खोटाङ चैत्र–१३, कोरोना संक्रमित युवतीसँगै कतारबाट एउटै जहाजवाट नेपाल फर्किनेमध्ये खोटाङका दुई जना युवा रहेका छन् । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाण्डौं आएकी संक्रमित युवतीसँगै यात्रा गरेकामध्ये खोटाङस्थित केपीलासगढी गाउँपालिका र जन्तेढुंगा गाउँपालिका युवा रहेको पाईएको छ ।

हाल केपिलासगढीका युवा धरानमा क्वारेन्टाइनमा बसिसकेको र जन्तेढुंगाका युवालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । घरैमा बसिरहेका युवाको स्वास्थ्य अवस्था बुझ्न र क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्थाका लागि जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राई, मेडिकल अधिकृत सरोजकुमार शाह लगायतको टोली जमन्तेढुंगातर्फ लागेको प्रजिअ पौडेलको भनाई छ ।

क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो ।