खोटाङ चैत्र–१३, विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोटाङको दिक्तेलवजारमा दुई घण्टामै ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । मंगलबार दिक्तेलस्थित माटीकोरे कभर्ड हलमा दुई घण्टाको अबधिमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।

जिल्ला समन्वय समिति खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गरेको हो । दिक्तेलवजारस्थित माउण्ट एभरेष्ट वोर्डिङ स्कुलमा क्वारेन्टाईन निर्माण गर्ने तयारी गरिए पनि अन्तिम समयमा व्यवस्थापन समितिको अध्यक्षले अवरोध पु¥याएपछि नगरपालिकाकै कभर्ड हलमा निर्माण गरिएको जनाईएको छ ।

निर्माणका लागि नेपाली सेना लगायतका टोली स्कुलमा पुगेपछि व्यवस्थापन समितिका अध्यक्ष नरेश श्रेष्ठले विद्यार्थीमा प्रतिकूल प्रभाव पर्ने भन्दै अवरोध पु¥याएको वताईएको छ । त्यसअघि विद्यालयका शिक्षक सागर जोशीले क्वारेन्टाईनको लागि विद्यालयको भवन उपलव्ध गराउने भनी सामाजिक सञ्जालमा समेत पोक्ष्ट गर्नुभएको थियो । क्वारेन्टाइन निर्माण गरिएसँगै जिल्लामा सञ्चालित सबै एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

यसअघि जिल्लाको एक मात्र सरकारी अस्पताल दिक्तेल बजारमा तीन शैयाको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) स्थापना गरिसकिएको छ । अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्ड कम क्षमताको भएपछि कभर्ड हलमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल विकास समिति खोटाङका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।

यस्तै, जिल्लाको हलेसी तुवाचुङ लनगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका लगायतले पनि क्वारेन्टाईन निर्माण गरेका छन् ।

जोखिमलाई न्यूनिकरण गर्न जिल्ला समन्वय समिति प्रमुख चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस रोकथाम नियन्त्रण जिल्ला समन्वय समिति समेत गठन गरिएको छ । जिल्लाका दश वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहनेगरि समिति गठन गरिएको हो ।

यस्तै, जिल्ला समन्वय अधिकारी राजेश गिरीको संयोजकत्वमा तीन सदस्यीय सचिवालय समेत गठन गरेर सञ्चालनमा ल्याइएको छ । जिल्ला समन्वय समितिको सभा हलमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले कोरोनाको चेकजाँच तथा रोकथामका क्रममा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्री लगायत जुटाउन सङ्घ तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

जिल्ला भित्रिने नाकाहरुमा हेल्थ डेस्कहरु समेत सञ्चालन गरिएको छ ।

 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here