खोटाङ २६ । प्रमुख तीन राजनीतिक दलले पहिचानवादी पक्षलाई संयमित हुन अनुरोध गर्ने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारद्धारा जारी निर्णयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हरेक राजनैतिक र विकास सम्बन्धी विषयमा राजनैतिक सहमतिको नामले परिचित यस जिल्लामा लोकतान्त्रिक मूल्य मान्यतामा रहेर गर्ने अभियान तथा कार्यक्रम सञ्चालन गर्न सबैमा अनुरोध गर्ने उल्लेख छ ।

निर्णय नम्बर दुईमा सबै राजनैतिक दलहरुले आ-आफ्ना कार्यकर्ताहरुलाई यस्तो परिस्थितिमा संयमित हुने र ढुंगा मुढा अवरोध सिर्जना हुने गतिविधि नदिन सजग गराउन साथै आन्दोलनरत पक्षहरुलाई समेत संयमित हुन र अराजक गतिविधि नगर्न अनुरोध गर्ने उल्लेख गरिएको छ । तीन पार्टी, संविधानसभा सदस्य, सांसदहरू उल्लेख गरिए पनि बैठकमा को-को व्यक्ति उपस्थित रहेका थिए भन्नेबारे खुलाइएको छैन ।

अहिले एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियान चलाइरहेको छ । प्रमुख जिल्ला अधिकारीले सार्वजनिक गरेको निर्णय सम्बन्धी सूचनामा भने एमालेको नाम उल्लेख नगरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतको कार्यक्रम भनिएको छ भने आन्दोलनरत पक्षलाई ‘पहिचानवादी भनिने समूह’को रुपमा उल्लेख गरिएको छ ।

एमालेको अभियानको यात्रा खोटांग पुगेको छ । पहिचानवादीहरुले भने कोशी प्रदेशको नाम खारेजीको मागमा उक्त यात्रालाई अवरोध गर्ने गरी अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् ।