खोटाङ, २५ मंसिर । खोटाङमा बिद्यार्थी संख्या बढाएर अनियमितता गर्ने प्रअको जागीर गएको छ । वास्तबिक बिद्यार्थी संख्याभन्दा तेब्बर बढि बिद्यार्थी संख्या देखाएर अनियमितता गरेको पुष्टि भएपछि पेलुङ प्राबि निर्मलीडाँडाका प्रअ कृष्णबहादुर केसीले जागीर गुमाएका हुन् । 
बिद्यार्थी संख्या ढाँटेर ‘फेक’ तथ्यांक पठाउँदै छात्रबृत्ति, पाठ्यापुस्तक, मसलन्द लगायतका शिर्षकको रकम दुरुपयोग गरेकाले प्राशि द्धितीय पदमा कार्यरत केसीले जागीर गुमाएका हुन् । बिद्यालयमा १२ जना बिद्यार्थी भए पनि ४३ बिद्यार्थी अध्ययनरत देखाएको पाइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । बिद्यार्थी संख्या बढाएर अनियमितता गरेको विषयमा जागीरबाट हटाइए पनि प्रअ केसीले भने स्वास्थ्यमा समस्या देखाउँदै राजीनामा दिएका थिए । प्रअ खत्री २८ वर्षदेखि शिक्षण पेशामा संलग्न थिए । गत आईतबार गरिएको स्थलगत निरिक्षण तथा अनुगमनकाक्रममा कक्षा १ मा ५ जना, कक्षा २ मा ५ जना र कक्षा ३ मा २ जना मात्र बिद्यार्थी अध्ययनरत रहेको पाइएको शिक्षाले जनाएको छ । 
अन्य नजिकका बिद्यालयमा भर्ना भएका छात्र/छात्रालाई पनि पेलुङ प्राबिमा दोहोरो भर्ना गरेर बिद्यार्थी संख्या बढि देखाएको पाइएको शिक्षाले जनाएको छ । बिद्यार्थी संख्या बढाएर अनियमितता गरेको फेला परेपछि ‘अख्तियारको सामना गर्न वा राजीनामा पेश’ गर्नमध्ये एक रोज्न लगाइएका केसीले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम १३० बमोजिम शिक्षा कार्यालयले सोमबार केसीको राजीनामा स्वीकृत गरेको हो । ‘खास बिद्यार्थी १२ जना रहेछन्, तर अन्य बिद्यालयका बिद्यार्थीको नाम राखेर बढि संख्या देखाइएको रहेछ,’ जिशिअ नेपालले भने, ‘अख्तियारमा हालौँ की राजीनामा दिनुहुन्छ भने पछि उहाँको राजीनामा आएको हो, राजीनामा आएको भोलीपल्टै राजीनामा स्वीकृत गरिएको हो ।’ विद्यार्थी संख्या बढाएर पठाउने अन्य विद्यालय र प्रमाणित गर्ने श्रोतव्यक्तीको पनि खोजी भइरहेको जिशिअ नेपालले जनाए । 
वास्तबिक संख्याभन्दा तेब्बर बढि बिद्यार्थी प्रमाणित गर्ने दोर्पाचिउरीडाँडा श्रोतकेन्द्रका श्रोतव्यक्ती पञ्चकुमार राई स्पष्टीकरणमा परेका छन् । बिद्यार्थी संख्या बढाएर ल्याउने बिद्यालयको छात्र÷छात्राको तथ्यांकलाई सही÷गलत यकिन नगरी प्रमाणित गरेकामा श्रोतव्यक्ती राईलाई सात दिनभित्र कारण सहित लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । आईतबार गरिएको स्थलगत निरिक्षण तथा अनुगमनकाक्रममा बिद्यालयको निर्देशन पुस्तिकामा लामो समयसम्म आफ्नो श्रोतकेन्द्र भित्रका बिद्यालयमा नपुगेको पाइएकोमा समेत श्रोतव्यक्ती राईलाई स्पष्टीकरण सोधिएको हो । शिक्षाका अनुशार श्रोतव्यक्ती राई २०६७ सालदेखि पेलुङ प्राबिमा नगएको पाइएको छ । कार्यालयीय कामकालागि जिल्ला शिक्षा कार्यालय जाने निहुमा काज बिदा लिएर बिद्यालयमा उपस्थित नहुने पेलुङ प्राबिकै सहायक प्रअ धनकुमारी राईलाई पनि शिक्षाले स्पष्टीकरण सोधेको छ । शिक्षा कार्यालय जाने भन्दै काज बिदा लिएको तर जिल्ला शिक्षा कार्यालयमा नपुगेको पाइएपछि राईलाई स्पष्टीकरण सोधिएको हो । यस्तै, जिशिका जाने भन्दै बिदा लिएको तर जिशिकामा नपुगेको पाइएपछि जनकल्याण माबि निर्मलीडाँडाका प्रअ लालमान राई पनि सपष्टीकरणमा परेका छन् । प्रअ राईलाई पनि शिक्षाले सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । ‘शिक्षा कार्यालय जाने भनेर बिदा लिए पनि शिक्षाको लगबुकमा शिक्षामा आइपुगेको नदेखिएकाले स्पष्टीकरण सोधिएको हो,’ जिशिअ नेपालले भने, ‘पेशाको मर्यदा विपरित भगौडाको काम भएको ठहर गर्दै सात दिनभित्र स्पष्ट कारण खुलाउन भनेका छौँ ।’ 
गाउँमै संस्थागत बिद्यालयमा लगानी गरेर सञ्चालन गर्ने महेन्द्रोद्धय आधारभुत बिद्यालय निर्मलीडाँडाका प्रअ शंकर खत्रीलाई पनि कारण स्पष्ट पार्न जवाफ मागिएको छ । आईतबार गरिएको अनुगमनकाक्रममा सामुदायीक बिद्यालयको प्रअ रहेर संस्थागत विद्यालयमा लगानी गरेर सञ्चालन गरिरहेको पाइएपछि स्पष्टीकरण सोधिएको हो । 
यस्तै, आफ्नै कार्ययोजना अनुशार सोमबार जलेश्वरी माबि काहुलेमा कार्यक्रम गरिए पनि आफै अनुपस्थित रहेको र कार्यक्रम परिवर्तनको जानकारी पनि नगराएकोमा लक्ष्मी माबि श्रोतकेन्द्रका श्रोतव्यक्ती नारायण पाण्डेलाई कारण स्पष्ट पार्न स्पष्टीकरण सोधिएको छ । मंसिर ९ गतेको निरीक्षण तथा अनुगमनकाक्रममा सरस्वती माबि अर्खौलेमा अन्पस्थित रहेको पाइएपछि अर्खौले श्रोतकेन्द्रका श्रोतव्यक्ती फुलेश्वर यादव पनि सात दिने स्पष्टीकरणमा परेका छन् । 
निर्मलीडाँडामा साप्सुजयपती एकेडेमी इंलिस बोर्डिङ स्कुल शाखा सञ्चालन गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णबहादुर राईलाई पनि नियम अनुशार शाखा सञ्चालन गरेन÷गरेको बिषयमा कारण सहित सात दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको जिशिअ नेपालले जनाए ।