खोटाङ चैत–५,  खोटाङमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । वच्चाहरुले खेलाएका आगोवाट हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका लोकेन्द्र माझी, जोखे माझी, सीतादेबी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो ।

आगलागीमा झनबहादुरको अनुमानित ८ लाख, लोकेन्द्रर र जोखेको ५/५ लाख र सीतादेबीको करिब ४ लाख रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट विस्थापितलाई बुधबार हलेसी तुवाचुङ नगरपालिकाले खाद्यान्न तथा बन्दोवस्तीका सामान प्रदान गरेको छ । आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट जनही २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बल लगायतका राहत सामाग्री प्रदान गरिएको मेयर इवन राईले बताउनुभयो ।

यस्तै, सल्लेस्थित वडा स्तरीय विपद व्यवस्थापन कोषबाट वडाध्यक्ष काशिराज राईले अग्नी पीडितलाई प्रतिपरिवार ३ हजारका दरले रकम प्रदान गरेका छन् । स्थानीय दुधकोसी युवा क्लवले पनि आगोबाट विस्थापित परिवारका लागि अस्थायी आवास एबं खाद्यान्न सहयोग गरेको जनाइएको छ । आगलागीमा धनमाल नष्ट भएपछि पीडित परिवारको बिचल्नी भएको छ ।