खोटाङ – काेभिड–१९ अर्थात् कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ ।
विश्वभरि नै कोरोनाकाे सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खाेटाङका १० वटा पालिकामा मनाउने तयारी गरिएको ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको हो ।
मन्त्रालयको पत्रअनुसार खाेटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेँलुखर्क गाउँपालिका लगायतका पालिकाले बुधबार छुट्टाछुट्टै सूचना निकाल्दै अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरेको जानकारी दिएको छ ।
खाेटाङका हरेक पालिकाले मार्च ८ (फागुन २५ गते) आ–आफ्नो केन्द्रमा र्याली, सभालगायतका कार्यक्रम गर्दै दिवस मनाउने तयारी गरिरहेका थियो ।
विश्वका विभिन्न ठाउँमा कोरोनाको सङ्क्रमण फैलिरहेको र हजारौँ नागरिकको ज्यान लिइरहेको सन्दर्भमा सबै प्रकारका भेला, सभा, सम्मेलन, समारोहलगायतका कार्यक्रम स्थगित गर्न मन्त्रालयले गएकाे मङ्गलबार पत्राचार गरेको थियो ।