
खोटाङ फागुन–१३, पहिरोका कारण अवरुद्द भएको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा मर्मतपछि परीक्षण उडान भरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थल अवरुद्ध भएको २१ महिनापछि मंगलबार नेपाल एयरलाईन्सको जहाजले परीक्षण उडान भरेको हो ।
डिलको माटो कटान हुँदा रन–वेसम्मको भाग भासिएपछि मर्मत गरिएको विमानस्थलमा काठ्माण्डौंबाट प्रदेशसभा सदस्य रामकुमार राई, प्रदेशसभा सांसद उषाकला राई सहित आएको जहाजले परीक्षण उडान गरेको थियो । अवरुद्ध विमानस्थल नियमित उडानका लागि तयार भएपछि स्थानीय उत्साहित भएका छन् । २०७५ साल जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको दक्षिणीतर्फको डिलबाट पहिरो वगेको थियो । कटानका कारण बिमानस्थलको रन–वेभन्दा २/३ मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्ट्रक्सनले करिब साँढे ६ करोडमा विमानस्थल मर्मतको काम पुरा गरेको हो ।
परीक्षण उडानकाक्रममा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधि, नेता तथा स्थानीयले खानीडाँडामा नियमित उडानका लागि नेपाल वायु सेवा निगमका प्रतिनिधि समक्ष माग राखेका छन् । प्रदेशसभाका सांसद रामकुमार राई र उषाकला राई, जिसस प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल, जिल्ला कार्यालय सदस्य जलसेर राई लगायतले खानीडाँडा–काठ्माण्डौं मात्र नभएर खानीडाँडा–बिराटनगर उडानका लागि व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनले भने खानीडाँडा विमानस्थलमा मंगलबार र
शनिबार नियमित उडानको व्यवस्था मिलाईने बताउनुभयो ।
विमानस्थल २०७२ साल असारमा कालोपत्रे गरिएको हो ।