
खोटेहाङ गाउँपालिकाको कार्यालय आफ्नै भवनमा सञ्चालन भएको छ । निर्माण उपभोक्ता समितिद्वारा निर्माण गरिएको सुविधा सम्पन्न कार्यालय भवन आजदेखि सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको रु ९२ लाखको लगानीमा निर्माण गरिएको कार्यालय भवन कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले औपचारिक उद्घाटन गर्नुभयो । आरसिसी ढलान गरिएको आठकोठे दुई तले कार्यालय भवनमा डिजिटल सूचना बोर्डसमेत जडान गरिएको छ ।
भवनमा गाउँपालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत छुट्टाछुट्टै शाखा स्थापना गरिएको छ । सेवाग्राहीका लागि प्रतीक्षालयसमेत निर्माण गरिएको कार्यालय भवनमा छुट्टाछुट्टै पाँच वटा शौचालय निर्माण गरिएको छ । नौँ वटा वडा रहेको खोटेहाङ गाउँपालिकामा छ वटा वडा कार्यालयको भवनसमेत निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । “गाउँपालिकाले भौतिक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “यसै वर्षभित्र बाँकी तीन वटा वडामा पनि कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।”
कार्यालय भवन उद्घाटन कार्यक्रमका वक्ताले गाउँपालिकाले निर्माण गरेको नयाँ कार्यालय भवन थोरै रकममा गुणस्तरीय र बहुउपयोगी बनाएको बताएका छन् । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दङ्गाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका पार्टी अध्यक्ष राजन ढकाल, नेपाली काँग्रेसका खोटेहाङ गाउँपालिका प्रेम थापा, वडा नम्बर–७ का वडाध्यक्ष शिवप्रसाद फुयाँल, भगवती क्याम्पसका क्याम्पस प्रमुख कुमार पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ब्रिटिस गोर्खा वेलफियर (जिडब्लुएस)ले उपलब्ध गराएको कार्यालय भवनमा सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय आफ्नै सुविधा सम्पन्न कार्यालय भवनमा सञ्चालन भएपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताउनुभयो । “आफ्नो भवन अभावमा गोर्खा वेलफियरले उपलब्ध गराएको भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा दैनिक कार्यसम्पादनमा समस्या थियो”, उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाको लगानीमा आफ्नै नयाँ कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याएपछि सहज भएको छ ।”
दश स्थानीय तह रहेको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका आफ्नै कार्यालय भवनमा सञ्चालन हुने चौथो स्थानीय तह हो । यसअघि हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाको एक नगरपालिका र छ वटा गाउँपालिका अझै भाडाकै घरमा सञ्चालन भइरहेको छ । नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख कविता राई, वरिष्ठ सङ्गीतकार महेश खड्का, वडाध्यक्षहरु, कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।