खोटाङ माघ–९, खोटाङका स्थानीय तहमा लेखा परीक्षणका लागि खटिएका टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएपछि आलोचना गरिएको छ । महालेखा परीक्षकको टोली जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको मात्र लेखा परीक्षण गरेर फर्किएपछि गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले पत्रकार सम्मेलन गरी आलोचना गर्नुभएको हो ।

कार्यालयमा आएर लेखा परीक्षण गर्न आग्रह गर्दा जनशक्ती अभाव देखाउँदै महालेखा परीक्षकको टोली फर्किएको भन्दै अध्यक्ष राईले खेद प्रकट गर्नुभयो । अध्यक्ष राईले पारदर्शीता कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएको महालेखाले लेखा परीक्षण नगरेर संघीयता र जनभावना विपरितको काम गरेको भन्दै महालेखाको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो । उहाँले महालेखा परिक्षकको टोलीले संविधानको मर्म विपरित स्थानीय सरकारलाई अण्डरस्टिमेट गराउनु खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

४६ दिनसम्म बसेर लेखा परीक्षण गरेको महालेखा परीक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको टोली पुस ७ गते काठ्माण्डौं फर्किएको थियो । निर्धारित मुकाम अनुशार दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई खोटाङबजारमा कागजात ल्याउन भनिएको थियो । तर, श्रेष्ता बोकेर खोटाङबजार नजाने अडान लिएका गाउँपालिकाले कार्यालयमै आएर लेखा लेखा परीक्षण गर्न महालेखालाई आग्रह गरेको थियो ।
गाउँपालिका तोकेको मुकाममा नआएपछि महालेखाले गत मंसिर १५ गते श्रेष्ता लिएर लेखा परीक्षण गर्न आउन पत्राचार गरेको थियो । तर भोलीपल्टै अन्यत्र लेखा परिक्षण गराउन जान नसकिने अडान सहितको जवाफ फर्काएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका आम नागरिकलाई समेत विश्वास दिलाउने गरी स्थलगत रुपमै नपुगी श्रेष्ताकै भरमा मात्र लेखा परीक्षण गर्नुको औचित्य नहुने अध्यक्ष राईको जिकिर छ । महालेखा फर्किएको जानकारी आएपछि पुस ११ गते महालेखालाई गाउँपालिकामा आएर लेखा परीक्षण गर्नका लागि पत्र पठाएर पुःन आग्रह गरिएको गाउँपालिका अध्यक्ष राईले सुनाउनुभयो ।
आर्थिक वर्ष २०७५/०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा छुट्टा–छुट्टै तीन टोली आएका थिए ।