खोटाङ पुस–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा आगलागी हुँदा ४८ लाख बराबरको धनमाल नष्ट भएको छ । बाम्राङ रमितेडाँडाका गोपी कट्वालको दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपात लगायत जल्दा ४८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान पौने ८ बजे विद्युत सर्ट हुँदा भएको आगलागीमा कट्वालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो ।

आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएर अन्य घरलाई आगोबाट जोगाइएको थियो । अग्नी पिडित कट्वाल सामुदायीक सेवा केन्द्र दिक्तेलका ईन्चार्ज एबं प्रहरी सहायक निरिक्षक हुन् । नजिकै नयाँ आरसिसि घर बनाए पनि कट्वाल परिवार पुरानै घरमा बस्दैआएका थिए ।