काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा खोटाङका इन्चार्ज विशाल भट्टराईले खोटाङबाट लोक सेवा नजाने स्पष्ट पारेका छन् । सांसद भट्टराईले लोकसेवा जाने भयो भनेर बितन्डा मच्चाउने काम गरिएको समेत बताएका छन् । ‘लोकसेवा कार्यालयको नाममा अहिले एउटा बितन्डा मच्चाउने एउटा कोसिस गरिएको छ’ भट्टराईले प्रथम खोटाङ दिक्तेल महोत्सव प्रचार प्रसार समुद्घाटन कार्यक्रममा भने, ‘लोक सेवा जाने भयो भनेर हंगामा मचाउने अनि बस्यो भने हामीले गर्दा भन्ने गई हाल्यो भने पनि हामीले कोसिस गरेका थियौं भन्ने प्रकारको कोसिसहरु भएका छन्’ ।

उनले आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि लोकसेवा आयोगको कार्यालय खोटाङबाट हट्न नदिने समेत जनाए । सांसद भट्टराईले हल्लाका पछाडी नकुद्न समेत आग्रह गरे । ‘तपाईहरु हल्लाका पछाडी नकुद्नुहोस्’ उनले भने ‘मैले यो बिचमा लोकसेवा आयोगको अध्यक्ष, अर्थ मन्त्रालयका सचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, राज्य व्यवस्था समितिका सभापतिसँग मेयर उपमेयरसहित गएर भेटघाट गरें, भेटघाटका क्रममा उहाँहरुले हामीलाई आश्वास्त पार्नु भएको छ, लोकसेवा आयोगको कार्यालय दिक्तेलबाट उठेर जाँदैन ।’

उनले खोटाङमा झनै सरकारी कार्यालय थपिएको समेत बताए । उनले भने ‘आज ताप्लेजुङदेखि दार्चुलासम्म हेर्नुभयो भने विगतमा बसेका सरकारी कार्यालय त्यहाँबाट हिडेका छन्, तर खोटाङ जिल्लामा पहिलेका अफिसहरु एउटा पनि विस्थापित भएनन्, त्यति मात्र हैन, नयाँ अफिसहरु लग्यौं, देशभर ९ वटा निर्णय हुँदा कर कार्यालय, पूर्वाधारको कार्यालय र खानेपानीको कार्यालय स्थापना गरेका छौं ।’ सांसद भट्टराईले जिल्ला बनाउने कुरामा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा समेत जोड दिएका छन् ।