26.1 C
Kathmandu
Tuesday, April 28, 2026
Home समाचार प्रथम खोटाङ दिक्तेल महोत्सव प्रचार प्रसारको काठमाडौंमा शुभारम्भ, कसले के– के भने...

प्रथम खोटाङ दिक्तेल महोत्सव प्रचार प्रसारको काठमाडौंमा शुभारम्भ, कसले के– के भने ?

काठमाडौं । आगामी २ फागुनदेखि आयोजना हुन लागेको प्रथम खोटाङ दिक्तेल महोत्सव, प्रचार प्रसारको शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
‘प्रथम खोटाङ–दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ २ फागुनदेखि १२ गतेसम्म महोत्सव आयोजना हुन गइरहेको छ ।
खोटाङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा एक अर्बको कारोबार गर्ने लक्ष्य छ भने एक लाख भन्दा बढीलाई अवलोकन गराउने आयोजकले जनाएको छ । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन राईले खोटाङ आर्थिक, पर्यटकिय, धार्मिक रुपले धेरै सम्भावना बोकेको जिल्ला भएको बताए । उनले संघीयतासँगै सरकारी कार्यालयहरु पालिकास्तरमा बाँडिएसँगै सदरमुकाममा चहल पहल कम भएको र महोत्सवमार्फत व्यापारका साथै कला सँस्कृति, भेषभुषा, सम्पदाका साथै खोटाङलाई सबैतिर चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।
प्रचार प्रसार शुभारम्भ कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै महोत्सव सम्पन्न गर्न अन्तिम दिनसम्म जहाँ गएर जे गर्न पनि आफू तयार रहेको प्रतिवद्धता जनाए । उनले आफूले जिन्दगीभर खोटाङमै बस्ने घोषणा गरेको स्मरण समेत गरे ।
तत्कालिन संविधानसभा सदस्य अर्जुन राईले महोत्सव खोटाङलाई चिनाउने अवसर भएको बताए । उनले हलेसीसम्म पुगेका पर्यटकलाई दिक्तेलसम्म पुर्याउने वातावरण मिलाउनुपर्ने बताए ।
नेकपा खोटाङका नेता कुमार आचार्यले महोत्सव देशभरी र देश बाहिररहेका सबैलाई खोटाङलाई चिनाउने अवसर भएकाले सफल पारेरै छाड्नुपर्ने बताए । उनले महोत्सव सफल पार्न आफू र आफ्नो पार्टीबाट सम्पूर्ण सहयोग हुने प्रतिवद्धता समेत जनाए ।
नेपाली कांग्रेस खोटाङका सभापति नरेश कुमार श्रेष्ठले महोत्सव खोटाङको इज्जतसँग जोडिएको कुरा भएको भन्दै सबै मिलेर सफल बनाउनुपर्ने बताए । उनले महोत्सव सफल बनाउन आफू जहिल्यै सँगै रहने समेत प्रतिवद्धता जनाए ।
संघीय समाजवादी नेपालका नेता केके राईले महोत्सवलाई राजनीति र कुनै दलको हिसाबले नहेरेर त्यो भन्दा माथि उठेर हेरिनुपर्ने भन्दै महोत्सव सफल पार्न आफ्नो पार्टीबाट सबै सहयोग हुने प्रतिवद्धता जनाए ।
दिक्लेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राईले हलेसीसम्म आएका पाहुना तथा पर्यटकलाई दिक्तेलसम्म कसरी पुर्याउने भनेर योजना बनाइरहेको बताइन् । सदरमुकाममा चहल पहल कम भएको भन्दै त्यसका लागि ११ वटा पर्यटकिय क्षेत्र पहिचान गरी काम भइरहेको पनि उनले जानकारी दिइन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबै मिलेर महोत्सव सफल पार्नुपर्ने बताए ।
खोटाङ सेवा समाजका संयोजक राकेश राईले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै यो जिम्मेवारी आयोजक संघको मात्र नभएर सबै खोटाङ र खोटाङेको भएको बताए ।
कलाकार शान्तिराम राईले महोत्सवमा जानका लागि कलाकारहरुको उच्च रुची भएको भन्दै महोत्सव सम्पन्न गर्न कलाकारको तर्फबाट तिब्र तयारी भइरहेको बताए ।
खोटाङ होटल व्यवसायी संघको अध्यक्ष रुद्र गिरीले आम खोटाङबासी आजैदेखि लागि परे २ लाख बढी पर्यटक भित्र्याउन सकिने बताए ।
खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष गणेश बहादुर शाहीले आफ्नो जन्म थलो खोटाङ नभए पनि खोटाङप्रति जहिल्यै शिर झुकाउने बताए । उनले महोत्सवमा जाने पाहुनाका लागि बसमा विशेष छुटको प्याकेज ल्याउने घोषणा समेत गरे ।