खोटाङ, पुस ५ । युवा संघ खोटाङले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न दोषीलाई पहिचान गरेर कारबाही गर्न माग गरेको छ । मंगलबार प्रेस बिज्ञाप्ती जारी गर्दै युवा संघले दिनदहाडै तिवारीलाई गोली हानी हत्या गर्ने दोषीको पहिचान गर्न र पक्राउ गर्न सरकार असफल देखिएको भन्दै आपत्ती जनाएको छ । समाज र देशकालागि उर्जाशिल जीवन सुम्पिएका नेताको हत्याले मर्माहत भएको जनाउँदै युवा संघले हत्यारालाई तत्काल पहिचान गर्न र कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।
युवा संघले प्रदेश नम्बर ५ लाई टुक्र्याउने सरकारको प्रस्ताव विरुद्धको आन्दोलनलाई थप शसक्त बनाउन आग्रह आन्दोलनकारीलाई गरेको छ । ‘हत्याराको पहिचान गरी कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछौँ,’ युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई, खोटाङ सह–संयोजक रसकुमार राई र सचिव पूर्णबहादुर राईले जारी गरेको बिज्ञाप्तीमा भनिएको छ, ‘यस घटनाबाट बिचलित नभै आन्दोलनलाई थप शसक्त बनाउन प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
प्रदेश नम्बर ५ लाई टुक्र्याउने प्रस्ताव बिरुद्धको आन्दोलनलाई नेतृत्व गरिरहेका अध्यक्ष तिवारीको रुपन्देही देबदह नगरपालिका–८ मा अज्ञात समुहले चलाएको गोली लाग्दा सोमबार मृत्यु भएको थियो ।