खोटाङ पुस–२३, उर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएकाले नेपालले छिमेकी देशबाट विजुली ल्याएर बाल्नुपर्ने अवस्थाको अन्त्य हुने वताउनुभएको छ । ६ सय ३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निरीक्षणका क्रममा मंगलबार खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवामा आयोजित कार्यक्रममा उर्जामन्त्री पुनले यस्तो वताउनुभएको हो ।

देशका विभिन्न स्थानमा साना तथा ठूला किसिमका जलविद्युत आयोजनाहरुको काम अन्तिम चरणमा पुगेकाले नेपाल यस आर्थिक वर्षको अन्त्यबाटै विद्युत निर्यात गर्ने अवस्थामा पुग्ने मन्त्री पुनले दाबी गर्नुभयो । यो सरकार आउनुअघि नौ सय मेगावाट विद्युत भएकोमा दुई वर्षमा चार सय मेगावाट थप गरेर १३ सय मेगावाट पुगेको उहाँले जनाउनुभयो । यसै वर्ष एक हजार मेगावाट विद्युत उत्पादन हुने मन्त्री पुनले सुनाउनुभयो ।

यो वर्षको अन्तिमदेखि नेपालको आफ्नै विजुली खपत गरेर बचत भएको विजुली भारत, बंगलादेश लगायतका बजारमा पु¥याउने गरी काम गरिरहेको मन्त्रीले जनाउनुभयो ।
मन्त्री पुनले आगामी पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको संकल्प पुरा गर्नेगरी काम भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले यस वर्ष तराई, मधेश र शहरी क्षेत्रका ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणाको तयारी गरिएको बताए । आगामी दुई वर्षभित्र खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका पहाडी जिल्लाका घर–घरमा उज्यालो पु¥याउने पुनको भनाई छ ।

प्रभावित क्षेत्रका सांसद, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित नेपाली सेनाको हेलीकोप्टरबाट आयोजनास्थल निरीक्षण गरेका मन्त्री पुनले दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि एसियाली बिकास बैंक (एडिबी)बाट करिब ६० अर्व ऋण सहयोग प्राप्त हुने र बाँकी एक खर्ब रकम नेपाल सरकार, विद्युत प्राधिकरण, सञ्चयकोष तथा बैंकबाट जुटाएर आयोजना सफल पार्ने बताउनुभयो ।