२०७६ पुष १९ खोटाङ
सुत्केरी व्याथाले च्यापेको अवस्थामा अधिक रक्तश्राव हुँदा अस्पताल लैजानेक्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी सरिता खत्री बिकको मृत्यु भएको छ । सिमपानीको एम्बूलेन्स बिग्रिएर मर्मतमा लगेको अवस्थामा खोटाङबजारबाट जीप झिकाएर उदयपुरको गाईघाट लैजाने क्रममा उदयपुरको रानीबास पुग्दा सरिताको २०७६ पुष १७ गते राती ११ बजे मृत्यु भएको आफन्त कृष्णबहादुर बिकले बताउनुभयो ।
बिहान ११ बजेदेखि अधिक रक्तश्राव भएपछि सरितालाई राती ८ बजेतिर अस्पतालतर्फ लगिएको थियो । १० वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेकी सरिताले तेश्रोपल्ट सुत्केरी हुँदा ज्यान नै गुमाएकी हुन् । पहिलोपल्ट घरैमा मृत बच्चा जन्माएकी सरिताले केही वर्षअघि अस्पतालमा शल्यक्रीया गरेर दोश्रोपटक मृत बच्चा जन्माएकी थिइन् । शल्यक्रीया गरेपछि अस्पतालले उनलाई अन्य बच्चा नजन्माउनका लागि सल्लाह दिएर पठाएको कृष्णबहादुरले सुनाउनुभयो ।
स्वास्थ्यचौकी सिमपानीमा बर्थिङ सेन्टर नहुँदा वडाका अधिकांश गर्भवती महिलाको स्वास्थ्य अवस्था जोखिममा छ । बर्थिङ सेन्टर स्थापनाका लागि वडाकार्यालयबाट परिणाममुखी पहल नभएको स्थानीयको गुनासो छ । वडाध्यक्ष चन्द्रबहादुर थापाले भने वडाकातर्फबाट बर्थिङ सेन्टर स्थापनाको पहल थाले पनि गाउँपालिकाले स्थापना गर्ने भनेकाले ढिलाइ भएको ।