खोटाङ/ पुष–१३, पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राइलाई ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारिताका माध्यवाट आम नागरिकलाई शुसूचित र सचेत गराउँदै देश तथा समाजमा योगदान पु¥याएको भन्दै राईलाई प्रेस संगठन नेपालले उक्त पुरस्कार प्रदान गरेको हो ।

डेढ दशक अघिदेखि छापा, रेडियो र अनलाईन सञ्चारमाध्यममा आवद्द रही निरन्तर क्रियाशील राईले समाज परिवर्तन र प्रगतिशील रुपान्तरणमा गरेको योगदानको उच्च कदर गर्दै पुरस्कृत गरिएको प्रेस संगठन नेपालले जनाएको छ । प्रेस संगठन नेपालको काठमाण्डौंमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा पत्रकार राईलाई नगद ५ हजार र कदरपत्र प्रदान गरिएको छ ।

पत्रकार महासंघ खोटाङका अध्यक्षमा लगातार तेश्रो कार्यकाल सम्हालिरहनुभएको राईले यसअघि समेत विभिन्न संघसंस्था तथा कार्यालयवाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । हाल, नागरिक राष्ट्रिय दैनिकमा आबद्ध राईलाई गत मंसिर २४ गते मात्र ‘छैटौ प्रदेश नम्बर १ मानव अधिकार पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।