खोटाङ , पुस–१२,
खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा एक बालिकामाथि बलात्कार गरी गर्भवती बनेपछि अर्कैलाई जिम्मा लगाएको खुलासा भएको छ । नाताले काका पर्ने २१ वर्षिय व्यक्तिले १५ वर्षीया बालिकालाई बलात्कार गरी ४० वर्षिय विदुरलाई जिम्मा लगाएको खुलासा भएको हो ।

प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार बलात्कार गरी अर्कैलाई जिम्मा लगाएर विवाह गरेको उजुरीपछि विवाह गर्ने व्यक्ति समेत पक्राउ परेका छन् । ‘काका पर्नेले बलात्कार गरेछ ।’ डिएसपी गौतमले भन्नुभयो–‘त्यसपछि श्रीमती मरेको बुद्धलाई जिम्मा लगाएर विहे गरेछ ।’ डिएसपी गौतमले थप्नुभयो–‘ विवाह गर्ने ब्यक्तिलाई पुस ६ गते पक्राउ गरी पुस ९ गते म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ ।’

फरार युवाविरुद्ध भने हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता गरिएको छ । अभियुक्त फरार रहेकै समयमा हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता गरिएको हो । गत पुस ९ गते मुद्दा दर्ता भएपछि फरार अभियुक्तको खोजी भइरहेको छ । पीडितको परिचय खुल्ने भएकाले पिडक र पिडितको नाम तथा ठेगाना गोप्य राखिएको छ । बालिका गर्भवती भएको पुस २ गते सार्वजनिक भएको थियो।

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको गर्भमा ३२ हप्ताभन्दा बढिको बच्चा रहेको देखिएको प्रहरीले जनाएको छ । बालिकालाई गर्भवती बनाउने युवा पनि विवाहित हुन् । घटना बाहिरिएपछि आफ्नै दाजुभाईले बहिस्कार गरेकाले उनले परिवारसहित गाउँ छाडिसकेको जनाइएको छ ।

पीडित हुँदाहुँदै पनि समाजकै अगुवाको दबावमा छोरीलाई अर्को पुरुषको जिम्मा लगाउन बाध्य हुनुपरेको भन्दै बालिकाका बाबु सम्पर्कविहीन बनेको स्थानीयले बताएका छन् ।