खोटाङ पुष–८,  खोटाङको सरस्वती मावि दिक्तेलमा एस.एल.सी. उत्तीर्ण गरेपछि बेलायत (युके) बस्दै आएका पूर्व विद्यार्थीले सो विद्यालयको प्राङ्गण धुलोरहित बनाउने अभियानका लागि आर्थिक सहयोग गरेको छ । एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन, विभिन्न पेशा÷व्यवसाय सञ्चालन लगायतका लागि बेलायत बस्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको ९ लाख ४८ हजार ३ सय २२ रुपैंयाँ रकम सहयोग गरेको हो ।

सहयोग रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद आचार्य र प्रधानाध्यापक राईलाई सहयोग रकम सङ्कलन समितिका सचिव जगतराम राईले हस्तान्तरण गर्नुभयो । बेलायतमा डाक्टर प्रमोद कोयूको संयोजकत्वमा सहयोग रकम सङ्कलन गरिएको जनाइएको छ ।

कक्षा–१ देखि १२ सम्म सञ्चालित उक्त विद्यालयको प्राङ्गणबाट उत्पादन हुने धुलोको कारण पठन÷पाठनमा समस्या भएपछि धुदोरहित बनाउन सहयोगका लागि बेलायतबासी पूर्व विद्यार्थीलाई अनुरोध गरिएको थियो । विकास÷निर्माण तथा सामाजिक काममा सहयोग गर्दैको बेलायतबासी खोटाङ्गेले गत वर्ष सात वटा एम्बुलेन्स र एक वटा भिडियो एक्स–रे मेसिन प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा पूर्व विद्यार्थीलाई लिखित निवेदनसहित अनुरोध गरिएको थियो ।
यसैबीच, वि.सं. २०५२÷०५३ एस.एल.सी. ब्याचका विद्यार्थीले आफूलाई अध्यापन गराउने शिक्षकलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । तत्कालीन समयका ११ जना शिक्षकलाई दोसल्ला ओढाएर र हाल कार्यरत शिक्षक तथा कर्मचारीलाई खादा ओढाएर सम्मान गरेका हुन् ।

पूर्व विद्यार्थीले उक्त कार्यक्रममा कक्षा–२ मा अध्ययनरत ७६ वर्षीया वृद्धा जुरीमायाँ राईलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ । वृद्धावस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेको कदर स्वरुप सम्मान गरिएको जनाइएको छ ।

यस्तै, सोही विद्यालयका पूर्व विद्यार्थीले सो विद्यालयको नाममा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको सबैभन्दा जेठो सो विद्यालयमा अध्ययन गरेर वि.सं. २०४५/०४६ सालदेखि २०५६/०५७ ब्याचसम्म एस.एल.सी. उत्तीर्ण गरेपछि विभिन्न देश तथा विदेशमा विभिन्न पेशा/व्यवसाय गर्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको दश लाख ६५ हजार रुपैंयाँ रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

देश तथा विदेशमा छरिएर रहेका ९४ जना पूर्व विद्यार्थीले अनलाइन बैठक बसेर दुई हप्तामा रकम जम्मा गरिएको संयोजक अञ्जु भट्टराईले बताउनुभयो ।