खोटाङ पुष–५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माबिका प्रधानाध्यापकमाथि अनियमितताको आरोप लागेको छ । स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै प्रअ देवान राईमाथि अनियमितताको आरोप लगाएका हुन् ।

विद्यालयको कम्प्यूटर खरिदमा अनियमितता भएको, विद्यालय कोषमा जम्मा भएको रकमको हिसाव पारदर्शी नराखिएको, विद्यालयको पठन–पाठन नियमित नभएको, प्रशासन चुस्तदुरुस्त सञ्चालन नगरिएको लगायतका आरोप लगाउँदै अभिभावकले प्रअमाथि प्रश्न उठाएका हुन् । आर्थिक पारदर्शीता तथा नियमित पठन–पाठनको अभावमा बिद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएकाले प्रश्न उठाउनु परेको अभिभावक एलबी मगरले बताउनुभयो ।

अभिभावकले विद्यालयका लागि कम्प्यूटर खरिद गर्नेक्रममा भएको आयव्याय सार्वजनिक गर्न, पुर्वप्रअ युद्धबहादुर राईले विद्यालयको कोषमा छाडेको १० लाखको आय–व्यायका बारेमा सार्वजनिक सुनुवाई गर्न, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा बनेको नयाँ भवनमा विद्यालयको साझेदारी लागत प्रतिशत खुलाउन माग गरेका छन् ।

७ बुँदे विज्ञाप्तीमा शिक्षक नियमित उपस्थिति नहुँदा पठन–पाठन प्रभावित भएको तथा सोको कारण अधुरो रहेको पठन–पाठनलाई बाँकी समयभित्र पूर्णता दिने लिखित प्रतिवद्धता आउनुपर्ने, प्रअको इ–हाजिरीको विवरण सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।

यस्तै, विद्यालय समयमा शिक्षक–विद्यार्थी मनोमानी घुमिरहेको देखिएकाले लिखित रुपमा कारण सार्वजनिक गर्न, एसइईको नतिजा लज्जास्पद भए पनि सुधारका कार्यक्रम तय नगर्नु र सरोकारवालाको भेला नबोलाउनुको कारण बारे जवाफ दिन, व्यावस्थापन समिति गठन प्रकृयामा भइरहेको आलटालको विषय स्पष्ट बनाउन र हाल शिक्षक अभिभावक संघमा काम गरिरहेका अध्यक्ष लगायत सदस्यको नामावली सार्वजनिक गर्न माग गरिएको छ ।
पुस ७ गतेसम्ममा चित्तबुझ्दो जवाफ नआए चरणवद्ध आन्दोलन सुरु गर्ने अभिभावक मगरले जनाउनुभयो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here