खोटाङ, १३ पुस । ग्रामिण सडकलाई प्राथमिकतामा राख्दै खोटाङको च्यास्मीटार गाबिसको नवौं गाउँ परिषद सकिएको छ । गाबिसको कार्यालयमा बुधबार सम्पन्न परिषदले चालुतर्फ ३६ लाख ६२ हजार र पुँजीगततर्फ ५ लाख ६२ हजार ५ सय गरी कुल ४२ लाख २४ हजार ५ सय रुपैयाँ बजेट पारित गरेको छ ।
नेकपा एमालेका युवा नेता सुरेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न परिषदले गाबिसमा पाँच वटा सडक निर्माण तथा मर्मतकालागि १३ लाख, कृषिकालागि ४ लाख ६५ हजार, विद्युतलाई २ लाख, स्थानीय बिपद व्यवस्थापन कोषकालागि १ लाख, समपुरक कोषकालागि १ लाख ३२ हजार, खानेपानीकालागि २० हजार बजेट बिनियोजन गरेको छ ।
यस्तै, महिला तथा बालबालिकालागि ६ लाख २० हजार, लक्ष्यीत बर्गकालागि ४ लाख ६५ हजार, पूर्णखोप, घरभित्रको धुवाँरहित गाबिस घोषणा तथा स्वास्थ्यचौकीको कन्ट्रोलर खरिदकालागि एकमुष्ट १ लाख र आयोजना व्यवस्थापनतर्फ १ लाख ७३ हजार बजेट बिनियोजन गरिएको गाबिस सचिव दिपक रिजालले बताउनुभयो । गाउँ परिषद कांग्रेस नेता देबेन्द्रकुमार राई, पुर्वगाबिस अध्यक्ष भूपालसिं राई, पुर्वगाबिस उपाध्यक्ष कुलबहादुर राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमका बक्ताहरुले बिनियोजित बजेटलाई सही र पारदर्शीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा एमालेका गाबिस अध्यक्ष बर्णकुमार राई, माओबादी केन्द्रका गाबिस अध्यक्ष चुडामणी घिमिरे, संघीय समाजबादी फोरमका दिपेन राई, खम्बुवान राष्ट्रिय मोर्चाका गाबिस अध्यक्ष जोतिन्द्र राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, शिक्षक अभिभाबक संघका अध्यक्ष लक्ष्मण राई, महिलाकातर्फबाट मनिषा राई, जनजातीकातर्फबाट रुपेन्द्र राई, महिला स्वास्थ्य स्वयंसेबिकाकातर्फबाट अमृता राई र सजना राई, शिक्षककातर्फबाट उदय ओझा, वडा नागरिक मञ्चकातर्फबाट रिपिन्द्र राईले शुभकामना मन्तव्य दिनुभएको थियो ।