खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत भाेजपुर-दिक्तेल सडक खण्ड मर्मत तथा विस्तार भइरहेको स्थानमा नै अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेका छन् ।

गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी भएको हो । प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले गएराती अज्ञात समूहले लम्सेखोला र पंखु खोलाको बिच भागमा राखेको ३ वटा र चखेवाभन्दा केही मुनि सडक निर्माणस्थलमा रहेको एउटा स्काभेटर अज्ञात समूहले आगजनी गरेको जानकारी दिए । राती ९ बजे काम सकेर क्याम्पमा आएपछि रातको समयमा आगजनी भएको र स्काभेटरमा पूर्ण क्षति पुगेको उनले बताए । स्काभेटर आगजनी भएको स्थानमा प्रहरी पुगेको छ ।

खोटाङमा विप्लव समूहले हरेक सरकारी कर्मचारीलाई महिनाको कम्तिमा २ दिनको तलब र निर्माण व्यवसायीलाई २ प्रतिशत चन्दा बुझाउन ताकेता गर्दै आएका थिए । प्रशासनले स्काभेटरमा विप्लव समूहको नै संलग्नता रहन सक्ने आशंका गरेको छ । स्काभेटर आगजनीबाट चार करोडको क्षति भएको छ भने निर्माण व्यवसायी त्रासित बनेका छन् । स्काभेटरमा आगजनी भएसँगै सडक मर्मत तथा पिचको काम समयमा सम्पन्न नहुने खतरा समेत बढेर गएको छ ।