खोटाङ मंसिर–१४, खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा सौर्हादपूर्ण वातावरणमा मतदान भईरहेको छ । रिक्त वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन अन्र्तगत आज बिहान ७ : १५ देखि मतदात सुरु भएको हो ।

खिदिमाका तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको गत बैसाख ९ गते मृत्यु भएपछि उपनिर्वाचन मार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो । मतदानका लागि स्थानीय सिद्धेश्वरी माबिमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकिएका छन् । मतदान बेलुका ५ बजेसम्म रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताउनुभयो ।

वडाध्यक्षका लागि नेकपाकातर्फबाट स्वर्गीय मणिकुमारकी श्रीमति शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्का उम्मेदवार छन् । उक्त वडामा १ हजार ३ सय ३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जनाउनुभयो ।

मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजवुद वनाईएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वामदेव गौतमले सुनाउनुभयो ।