खोटाङ मंसिर–१३, खोटाङमा मौन अवधिमा सहमति विपरित निर्वाचन प्रचार–प्रसारका गतिविधि गरेको बिषयमा आपत्ति जनाईएको छ । साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि हुन गइरहेको निर्वाचनको मौन अवधिमा कांग्रेसले समझदारी विपरितका गतिविधि गरेको नेकपाले आरोप लगाएको छ ।

मौन अवधि सुरु भएपछि ‘सम्वन्धित वडाका मतदाता नामावली भएका नेता तथा कार्यकर्ता बाहेक जिल्ला तथा केन्द्रीय तहका नेताहरु खिदिमा नजाने’ सहमती भए पनि उक्त सहमति कांग्रेस नेताबाट उल्लंघन भएको नेकपा खोटाङका सचिव रामप्रसाद दंगालले बताउनुभयो । सर्वदलीय सहमती विपरित बिहिबार राती कांग्रेस नेता सुवासकुमार पोखरेल, तिर्थराज भट्टराई लगायतका नेता खिदिमा पुगेको नेकपाको आरोप छ ।

कांग्रेसकै प्रस्तावमा मौन अवधि सुरु भएपछि कोही पनि नेता खिदिमा नजाने सहमती गरिएको नेकपाका नेताको भनाई छ । आफै हस्ताक्षर गर्ने अनि आफै उल्लंघन गर्न नपाईने भन्दै सहमती अक्षरस पालना हुनुपर्नेमा नेता दंगालको जोड छ ।
आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यको संयोजकत्वमा बसेको सर्वदलीय बैठकमा मौन अवधि सुरु भएपछि सम्वन्धित वडाका नेता तथा कार्यकर्ता बाहेक अन्य नेता खिदिमा नजाने सहमती भएको जनाइएको छ । मौन अवधिको प्रचार–प्रसारका विषयमा भएको समझदारीलाई कांग्रेसले उल्लंघन गरेको भन्दै नेकपाले प्रश्न उठाएपछि राती झडप हुने अवस्था आएको र प्रहरी परिचालन गरेर स्थिति सामान्य पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गर्ने र असमझदारीलाई टुंग्याउने सहमतीमा रातीको विवाद हल गरिएको थियो ।
घटना लगत्तै नेकपा नेता प्रकाश चौंलागाई लगायतका नेकपाका कार्यकर्ता र खिदिमाका वडा सदस्य जीवन श्रेष्ठ (जगबहादुर श्रेष्ठ)बीच गरिएको कागजातमा भने ‘अवाञ्छनीय गतिविधिका क्रममा कांग्रेस नेता तथा कार्यकर्ता पक्राउ परेको र आवश्यक पर्दा निर्वाचन आयोगमा उपस्थित गराउने’ उल्लेख छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङका प्रहरी नायव निरीक्षक शम्भु पौड्यालको रोहवरमा एक कुलियतनामा पत्र तयार गरी हस्ताक्षर गरिएको छ ।
कांग्रेस नेता पोखरेलले भने माननीय, गाउँपालिका अध्यक्ष नै हिँडिरहेको देखेपछि आफुहरु पनि आफ्नो उम्मेद्वारको घरमा आलु खान गएको सुनाउनुभयो । नेकपाका कार्यकर्ता योजनावद्ध लागेको सुनाउँदै पोखरेलले कुनै अप्रिय घटना होला भनेर आफुहरु एरिया छोडेर हिडेको जनाउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस आचार्यले भने घटनाको विषयमा औपचारिक जानकारी नभएको जनाउनुभयो ।