नेकपा खोटाङको सक्रियता ह्वात्तै बढ्यो, दिनदिनै प्रशिक्षण र भेला

खोटाङ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको पछिल्लो समय सक्रियता ह्वात्तै बढेर गएको छ ।

नेकपा खोटाङले दिन दिनै जस्तै प्रशिक्षण तथा भेला आयोजना गर्दै आएको छ । विभिन्न कमिटीहरुको गठनमा पनि नेकपाले सक्रियता दिएको पाइएको छ । नेताहरुका अनुसार नेकपामा प्रवेश गर्नेको संख्या समेत दिनदिनै बढेको छ । नेकपा खोटाङका इन्चार्ज तथा सांसद विशाल भट्टराईका अनुसार १० वटै पालिकामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना भइरहेकाे छ ।

नेकपा खोटाङका अध्यक्ष पृथ्वीले हलेसी तुवाचुङ नगरपालिका कमिटी, रावाबेसी गाउँपालिका कमिटी, ऐसेलुखर्क गाउँपालिका कमिटी र केपिलासगढी गाउँपालिका कमिटीमा एकता सुदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण भव्य तवरले सम्पन्न भएको बताउनु भयो । नेकपाले १५ काात्तिकमा याम्खामा भव्य कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा १५ जना नेपाली कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

नेकपाले १७ कात्तिकबाट हलेसी नगरपालिकाबाट प्रशिक्षण सुरु गरेको थियो । यस्तै १८ कात्तिकमा रावावेशीमा प्रशिक्षण चलाएको थियो । कार्यक्रममा २५ जना विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

नेकपाले १९ कात्तिकमा ऐसेलुखर्कमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षणको चौथो दिन २१ कात्तिकमा केपिलासगढी गाउँपालिका अन्तर्गत बाक्सिलामा प्रशिक्षण सम्पन्न भएको नेकपा खोटाङले जनाएको छ ।

नेकपाका अर्का नेता विनोद आचार्यले २३ कात्तिकमा दिक्तेल रुपाकोट नगरपालिका, २५ गते साकेला गाउँपालिका, २६ गते दिप्रुङ गाउँपालिका, २७ गते खोटेहाङ गाउँपालिका, २८ गते जन्तेढुंगा गाउँपालिका र २९ गते बराहपोखरी गाउँपालिकामा पालिका स्तरीय प्रशिक्षण आयोजना हुने जानकारी दिनुभयो ।