असोज–२९ खोटाङ,   प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको घटनाका विषयमा अनुसन्धान अघि बढाउन परमादेश भएको दुई वर्ष बित्दा समेत अदालतको आदेश कार्यान्वयन नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएकै अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय किरण राई ‘भुदेउ’को २०७० असार २६ गते मृत्यू भएको थियो ।

उक्त घटनामा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले २०७४ साल भदौ १५ गते अनुसन्धान प्रक्रिया अघि बढाउन विपक्षी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेपनि हालसम्म कुनै कारबाही प्रक्रिया अघि नबढेको भन्दै आफन्त तथा स्थानीयले आवाज उठाएका हुन् । पत्रकार भीम राईले अदालतको परमादेश अनुशार प्रहरीले दोषी उपर कारबाही अघि नबढाउँदा पिडित पक्षले मानव अधिकारको प्रत्याभुत गर्न नसकेको बताउनुभयो ।

ज्यान मारेको अभियोगमा २०७० साल जेठ २८ गते पक्राउ परेपछि हिरासतमा राखिएका भुदेउको हिरासतमै मृत्यु भएको थियो । थुनुवा भुदेउको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन प्रहरी नायब उपरीक्षक राजीव बस्नेत, प्रहरी निरीक्षक रमेश देव लगायत ११ प्रहरी बिरुद्ध कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।

आयोगले घटनामा संलग्न प्रहरी नायव उपरीक्षक बस्नेत र प्रहरी निरीक्षक देवलाई विभागीय कारवाही गर्न तथा प्रहरी नायव निरीक्षकहरु महेन्द्र खत्री, मुकुन्दप्रसाद विडारी, हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्वन्धि महल बमोजिम कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समक्ष २०७० भदौ १९ गते सिफारिस गरेको थियो । अस्थायी इजलास ओखलढुंगाको परमादेसले आयोगको निर्णय र सिफारिसलाई सदर गरेको भए पनि न्याय नपाएको मृतकका आफन्त रञ्जीब राईले गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले भने घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जवाफ दिनुभएको छ ।