खोटाङ असोज–१४,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका जन्मजातै रोगी तथा निरन्तर तीन पटकका अग्नीपिडित वालकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । Cerebral Palsy नामक रोगवाट ग्रसित साथै तीन पटक आगोमा जलेर घाईंते अवस्थामा रहेका १२ बर्षिय सुर्यप्रकाश राईलाई जिल्लाका युवा अभियान्ताहरुले जुटाईदिएको रकम मंगलवार प्रदान गरिएको हो ।

अभियानवाट संकलित १ लाख १४ हजार ४ सय ४८ रुपैंयाँ रकम प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले पीडितका वुवा कुन्दन राईलाई हस्तान्तरण गर्नुभयो । निम्न आर्थिक अवस्थाका कारण उपचारमा समस्या भईरहेको समाचार वाहिरिएपछि किरणजीत राईको संयोजकत्वमा कार्यक्रम तथा सविता भुजेलको संयोजकत्वमा आर्थिक पक्ष रहनेगरी ‘सुर्यप्रकाश राई आर्थिक सहयोग संकलन अभियान’ थालिएको थियो ।

पीडितको जीवनयापनमा सहज होस भन्ने कामनासहित थालिएको अभियान अन्र्तगत सहयोग गर्ने सवैलाई धन्यवाद दिईएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा राजनीतिक दलका नेता, सुरक्षा प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सामाजिक अभियानमा सक्रिय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।