खोटाङ असोज–५, खोटाङमा मोही ठानेर किरा मार्ने विषादि सेवन गर्दा एक किशोरी गम्भीर विरामी परेकी छन् । घोलेर बोत्तलमा राखेको विषादिलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा ट्याम्टुककी १३ वर्षीय अम्बिका राई सिकिस्त बिरामी परेकी हुन् ।

अमेरिकी फौजी किरा नियन्त्रणका लागि घोलेर राखिएको विषादि पिउँदा गम्भीर बिरामी परेकी अम्बिकालाई उपचारका लागि काठ्माण्डौं लगिएको आफन्त एबं स्थानीय शिक्षक दिलीप राईले जानकारी दिनुभयो । अम्बिकाले शुक्रबार विद्यालयबाट घर फर्किए लगत्तै बोत्तलमा राखेको विषादि झुक्किएर सेवन गरेकी थिईन् । हाल ओम अस्पताल काठ्माण्डौंमा आइसियूमा राखेर उनको उपचार भईरहेको बाबु क्षेत्रबहादुर राईले बतउनुभयो ।

अम्बिका स्थानीय मालिकादेवी माबिमा कक्षा ७ मा अध्ययनरत छिन् । हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्षेत्रमा फैलिएको फौजी किरा नियन्त्रणका लागि केही समयअघि किसानलाई विषादि वितरण गरिएको थियो ।