खोटाङ भदौ–२२, जन्मजात दुवै हात नभएकी खोटाङकी १९ वर्षिया सम्झना राईले दिक्तेल वहुमुखी क्याम्पस दिक्तेलवजारवाट भर्खरै १२ कक्षाको मौका परीक्षा दिनुभएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी राईले गत वर्ष खोटेहाङ गाउँपालिकाकै भगवती मावि खोटाङवजारवाट परीक्षा दिनुभएको थियो ।

नियमित परीक्षामा अंग्रेजी विषय अनुर्तीण भएपछि निकै लामो यात्रा पार गरी उहाँ मौका परीक्षा दिन दिक्तेल आईपुग्नुभएको हो । निम्न आर्थिक स्तरको परिवारमा दुवै हातविहिन जन्मनुभएको सम्झना उसो त सानै उमेरदेखि नै कष्टपूर्ण ढंगले अध्ययन गर्दै आउनुभएको छ । उहाँ आफै कपडा लगाउन, फेर्न, खाना खान सक्नुहुन्न । उहाँ खुट्टाकै भरमा सवै काम गर्नुहुन्छ । खुट्टाले नै लेखेर उहाँ आजसम्म उतीर्ण हुँदै आउनुभएको छ । तर पढाई–लेखाईमा साथीहरुभन्दा कम नभएको उहाँ सुनाउनुहुन्छ ।

घरवाट एक घण्टा वढीको वाटो हिँडेर विद्यालय आवत–जावत गर्नुपर्दा उहाँलाई सुरु–सुरुमा विद्यालय छाडौं जस्तो पनि लागेको थियो । तर मनले मान्दै–मानेन ।

‘जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःख–कष्ट गरिरहेको छु ।’ परीक्षा दिईसकेपछि सम्झनाले भन्नुभयो–‘दाई पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर अहिले छोड्नुभो, वुनुहरु पढ्दैछन्, मैले पनि पढ्नैपर्छ ।’ घरायसी काममै अल्झिनु वाध्य सम्झनाका वुवाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको सुनाउनुभयो ।

‘आजसम्म त सवैको साथ सहयोगवाट पढियो, तर अव…. ।’ सम्झनाको अवको अध्ययन यात्रा निश्चितै त छैन । तर सम्झना राईसँग लगनशीलता, धैर्यता र आत्मवल छ । ‘शारीरिक हिसावले म जस्ता र म भन्दा कमजोर अवस्थाकाहरुले पनि धेरै राम्रा र ठूलो काम गरेर नाम कमाएको थाहा पाएको छु ।’

उहाँ भन्नुहुन्छ–‘मैले झमककुमारी घिमिरे लगायतका धेरै व्यक्तिहरु शारीरिक रुपमा फरक भए पनि इतिहास लेख्न सफल वनेको देखेको छु ।’ झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उहाँ सुनाउनुहुन्छ । ‘धरानमा मैले उहाँलाई भेटेँ । भेट्न वोलाउनुभएको रहेछ ।’ झमककुमारीवाट आफुले धेरै हौसला पाएको सम्झना सुनाउनुहुन्छ–‘झमककुमारी त हिँड्न पनि सक्नुहुन्न रहेछ ।’ झमककुमारीवाट प्राप्त गरेको ‘जीवन काँडा की फूल’ कृति सवै पढ्नुभएको छ सम्झनाले ।

‘पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा वुझेँ पनि ।’ उक्त पुस्तकले जीवन र संघर्ष बुझ्न सकेको सम्झनाको भनाई छ । सवैको मायाँ र साथ पाए आफु पनि देश र समाजको लागि केही न केही गर्ने उहाँको सोँच छ । सम्झनाको अध्ययन निरन्तर अघि वढोस् भन्नका लागि यसअघि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । आजभन्दा ४ बर्ष अगाडी खोटाङमा जन्मी युकेलाई कर्मथलो वनाएका समाजसेवीहरुको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले ४ लाख ६९ हजार ७ सय ६० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म व्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउनेगरी चेक प्रदान गरेका थिए ।

युकेमा बसोबास गरिरहेका खोटाङ्गेबाट संकलित उक्त रकम सम्झना र आमा सुमिता राईको नाममा रकम जम्मा गरिएको थियो । सम्झनाका लागि एरिया वेलफेयर सेण्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको जनाईएको छ । नेपाल सरकारवाट भने मासिक ६ सय रुपैंयाँ भत्ता पाउने गरेको सम्झनाले जनाउनुभयो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here