खोटाङ भदौ–२१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटन भए पनि ज्यामीहरुले ज्याला पाएका छैनन् । दुई स्थानीय तह जोड्ने साप्सु खोला(दोश्रो) पुल निर्माण भई सञ्चालनमा आए पनि कामको ज्याला नपाएको कामदारहरुको गुनासो छ ।

निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिवाट ३० भन्दा वढी कामदारको श्रमशोषण भएको साकेला गउाँपालिका–५ का कामदार तिलवहादुर राईले वताउनुभयो । उक्त कम्पनीका प्रतिनिधिले पुलको शिलन्यास हुनुभन्दा ३ वर्ष अघि २०७० सालदेखि नै स्थानीयलाई काममा खटाएका थिए ।

आफ्नै गाउँमा रोजगार पाउँदा उत्साहित हुँदै मिस्त्री, गिटी, ढुंगा र बालुवाको काम गरेका कतिपय कामदारको पुरै हिसाव हराएको छ । आंशिक ज्याला पाएका कामदारहरुले समेत पुल सञ्चालनमा आउँदासम्म पनि पुरै ज्याला नपाएको भन्दै असन्तुष्टी जनाएका छन् । कामको दाम नपाएको विरोधमा कामदारले भदौ ११ गतेको पुल उद्घाटनको कार्यक्रममा अवरोध नै गर्ने तयारी गरेका थिए । तर, स्थानीय जनप्रतिनिधिबाट पारिश्रमिक दिलाउने आश्वासन पाएपछि कामदारहरु पछि हटेका थिए । ठेकेदारले पसलमा खाना, खाजा खाएको एक लाख ७० हजार बक्यौंता हालसम्म नपाएको निर्माणस्थलका व्यवसायी रामचन्द्र राईले सुनाउनुभयो ।

विद्यालय छाडेर गिटी कुट्न साप्सु खोला पुगेका कतिपय विद्यार्थीले समेत ज्याला नपाएको वताईएको छ । ठेकेदारकै कारण कतिपय कामदारले कुटेको गिटी टिनमा भर्ने र हिसाव गर्ने काम नभएको कामदारको गुनासो छ । म्याद गुज्रेको १५ महिना बित्दा समेत पहिलो निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको पहिलो प्रतिनिधिले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि २०७५ चैत्रमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो । बस्नेतले कामको जिम्मा लिए यताको पारिश्रमिक पाए पनि सोभन्दा अघिको पारिश्रमिक नपाएको कामदारको गुनासो छ ।

साकेला गाउँपालिकाका अध्यक्ष खड्काले भने पुल निर्माणकाक्रममा ज्याला पाउन बाँकी कामदारलाई ज्याला दिलाइने जनाउनुभएको छ । १८ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल बैशाख १७ गते सम्झौता गरिएको पुल नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजारको खर्चमा तयार भएको हो । दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तरगत पर्ने साप्सु खोलामा २०७३ मंसिर २२ गते शिलान्यास गरिएको पुलको म्याद २०७४ साल कार्तिकमै गुज्रिएको थियो । प्रदेशसभा सदस्य रामकुमार राईको प्रमुख आतिथ्यमा पूर्वसांसद कुलप्रसाद फुयलाँल लगायत जनप्रतिनिधिहरुको उपस्थितीमा पुल उद्घाटन गरिएको हो ।