खोटाङ भदौ–१९, खोटाङमा पर्यटक आकर्षित गराउने उदेश्यले होटल व्यवसायीलाई १० दिने आधारभुत तालिमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्यटक भित्र्याउने तथा टिकाउने उदेश्यले होटल व्यवस्थापन तालिमको आयोजना गरिएको हो ।

खोटाङ उद्योग वाणिज्य संघको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा विहिवारदेखि नगरभित्रका ४० जना व्यवसायीहरुलाई तालिम प्रदान गर्न शुरु गरिएको छ । तालिमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्रशिक्षक लगायतको प्राविधिक सहयोग गरेको उद्योग वाणिज्य संघको अध्यक्ष उपिनकुमार राईले वताउनुभयो ।

नगर भित्रिने आन्तरिक तथा वाह््य पर्यटकहरुलाई स्वागत, सत्कार तथा सम्मान गर्ने देखि पकाउने, पस्काउने र परिकार छनौट गर्ने तरिकावारे तालिममा जानकारी गराईने जनाईएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका कारण बढ्ने पर्यटकहरुको लागि आकर्षक सेवा, सुविधाका लागि तालिम उपयोगी रहने अध्यक्ष राईको भनाई छ ।

नगरपालिकाले प्राथमिकताका साथ विकास तथा प्रर्वद्दन गरिरहेको ११ पर्यटकीय स्थल, मध्यपहाडी लोकमार्ग आदिका कारण केही वर्षभित्रै पर्यटकको संख्या वढ्ने मेयर दिपनारायण रिजालको आँकलन छ । तालिम उद्घाटनमा वोल्दै मेयर रिजालले हलेसीमा आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउन विभिन्न पहल भएको उल्लेख गर्नुभयो ।

तालिमको पहिलो दिन भने १ सय ५० जना होटल व्यवसायीलाई एक दिने व्यवसायिक अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।

हलेसी आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउने उदेश्यले हलेसीमै सूचना केन्द्र राखिएको छ । हलेसी दर्शन गरिसकेपछि दिक्तेलवजार नजिकै रहेको कालिका भगवतीको दर्शन नगरेमा मनोकांक्षा पूरा नहुने जनविस्वास छ ।