सवै समुदायका महिलाहरुमा तीजको रौनक

खोटाङ भदौ–१६, खोटाङमा विभिन्न समुदायका महिलाहरुले सामुहिक नाचगान गर्दै तीज मनाएका छन् । हरितालिका तीजको अवसर पारेर सवै जाति तथा समुदायका महिलाहरु दिक्तेलवजारमा भेला भई सामुहिक रुपमा नाचगान गर्दै तीज मनाएका हुन् ।

विशेषगरी हिन्दु महिलाहरु सहभागी हुने तीजमा पछिल्लो समय प्रायः सवै जाति तथा समुदायका महिलाहरु सामेल हुने गरेका छन् । जातीय, धार्मिक तथा साँस्कृतिक विविधता भएको जिल्लामा सहअस्तित्व र सद्भावको विकास भईरहेको जिल्लावासी वताउँछन् ।

बिहानैदेखि व्रत वसेका महिलाहरु दिक्तेलवजार, हलेसी महादेवस्थान लगायतका केन्द्रहरुमा नाचगानमा जुटेका छन् । तीजमा जस्तै, साकेला सिली, लाखे नाच, संगिनी लगायतका साँस्कृतिक चाडहरुमा समेत सवै समुदायका मानिसहरु सहभागी भई एकआपसमा शुभकामना आदान–प्रदान गर्दै हर्षोल्लास मनाउँछन् ।

महिलाहरुले आज बेलुकी पूजा लगाउने वा भोलि बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तीज व्रत उद्यापन गर्छन् । तीजको व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।