खोटाङ भदौ–१६, खोटाङको दिक्तेलवजार कुकुर काण्डले तातिएको छ । नगरपालिकाको पहलमा भुस्याहा कुकुरहरुलाई निर्मम ढंगले मारिएको भन्दै जताततै चर्चा चलिरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने दिक्तेलवजारस्थित त्रिवेणीचोकमा शनिबार भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो सामाजिक सञ्जालवाट वाहिरिएपछि हाल नगरपालिका तथा मेयरको तीव्र आलोचना भईरहेको छ ।

भुस्याहा कुकुरले वजारवासीमा आतंक फैलाए पनि नियन्त्रणका लागि गलत विधि अपनाईएको भन्दै सामाजिक सञ्जालमा समेत विरोध जनाईका छन् । उक्त भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ । दृश्यामा कतिपय मरेका र कतिपय बेहोस कुकुरलाई ट्याक्टरमा हालेर भवनगैरातर्फ लैजाँदै गर्दा त्रिबेणीचोकमा सो कुकुरलाई निर्मम तरिकाले मारेको देखिन्छ ।

भिडियोको अधिकांश कमेन्टमा पशु अधिकार हनन् भएको भन्दै नगरपालिकाको आलोचना गरिएको छ ।
केही दिनअघि विष हालेको र विषले मरेका, बेहोस भएका तथा छटपटाइरहेको अवस्थामा कुकुरलाई पुर्नका लागि ट्याक्टरमा संकलन गरिएको स्थानीयको दाबी छ । त्रिबेणीचोकमा फेला परेको कुकुर पनि विषले ढलमलिइरहेको अवस्थामा फेला पारेर कुटेर मारिएको स्थानीय बताउँछन् ।

मेयर दिपनारायण रिजाल सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागेको कारण मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्ने क्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तीले नियन्त्रण गर्नेक्रममा कुटपिट गरि मारिएको जानकारी आएको जनाएको छ ।

नगरपालिकाको कुकुर मार्ने कुनै योजना नभएको र कसैले पनि मार्ने कार्य नगर्नु र नगराउन अनुरोध गरिएको उल्लेख छ । मेयर रिजाल सचिवालयले जारी गरेको सुचनामा घर पालुवा कुकुरलाई बाँधेर व्यवस्थित ढंगले पाल्न सम्पूर्ण नगरबासीमा अनुरोध गरिएको छ ।

बजारमा भुसिया कुकुरले बिहान र रातका समयमा हिँडडुल गर्नेक्रममा टोक्ने र आतंक फैलाएकाले नियन्त्रण गर्ने निर्णय गरिएको भए पनि पशु अधिकार उल्लंघन गर्ने काम नभएको मेयर रिजालको दावी छ ।

भुस्याहा कुकुरलाई कुटेर मारिएको घटनापछि हाल फेसबुकमा पक्ष/विपक्षमा जुहारी चलिरहेको छ । यसअघि, वजामा फैलिएका भुस्याहा कुकुर नियन्त्रण गर्न स्थानीयले माग गर्दै आएका थिए । हुलका हुल हिँड्ने भुस्याहा कुकुरले मानिसलाई हिँडडुल गर्न समस्यामा पारेको भन्दै नियन्त्रणका लागि नगरपालिकासँग आग्रह गरिदिन सञ्चारकर्मीहरुसँग समेत स्थानीयले अनुरोध गर्ने गरेका थिए ।

हाल वजारवासीहरु पनि सो कार्यको पक्षविपक्षमा उभिएका छन् । कतिपय वजारवासीहरु कुनै पनि ढंगले भुस्याहा कुुकुर मास्नैपर्ने पक्षमा छन् भने कतिपयले निर्मम विधिको विरोध जनाईरहेका छन् ।

नगरपालिकाले पशु अधिकार हनन् गरी गलत कार्य गरेको कतिपयको टिप्पणी रहेको छ ।