
खोटाङ भदौ–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्षले राज्यवाट प्राप्त सेवासुविधावापतको रकम सामाजिक सङ्घ/संस्थालाई प्रदान गर्दै आउनुभएको छ । वडाध्यक्ष लिला चौहानले आफूले पाएका सम्पूर्ण तलवभत्तामा आफ्नै व्यक्तिगत रकम समेत थपी सामुहिक रुपमा काम गरिरहेका संघसंस्थालाई वितरण गर्नुभएको हो ।
वडाध्यक्ष चौहानले यो वर्ष राज्यवाट प्राप्त एक लाख २० हजार रुपैंयाँमा एक लाख दश हजार थप गरी हालै मात्र सामाजिक सङ्घ/संस्थालाई प्रदान गर्नुभएको छ । गत वर्ष पनि उहाँले आफ्नो सेवासुविधा वापतको रकममा अन्य रकम थप गरी सामुहिक रुपमा सामाजिक विकासका लागि वितरण गर्नुभएको थियो ।
यो वर्षको रकम वडामा गठन भएको १३ वटा आमा समूहलाई दश/दश हजार, उत्कृष्ट टोल विकास समितिलाई दश हजार, नेवाँ पुँच खललाई ५० हजार रुपैंया प्रदान गर्नुभएको छ । यस्तै वडाध्यक्ष चौहान आफैले अभिभावकत्व ग्रहण गरेको छात्र नीरकुमार खत्रीलाई दश हजार र धामीलाई तीन हजार रुपैंयाँ प्रदान गर्नुभएको वडा सदस्य हरि चाम्लिङले जनाउनुभयो । आमा समूहलाई प्रदान गरिएको रकम घुम्ती कोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिना ब्याज चलाउन दिनेगरि प्रदान गरिएको हो ।
बाँकी रहेको १७ हजार रुपैंयाँ रकम लोपोन्मुख अवस्थामा पुगेको संगिनी नृत्य टोलीका लागि साडी खरिद गर्न सहयोग गर्नुभएको जनाइएको छ । वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त रकम तथा सामाग्री वितरण गरिएको हो । प्रत्येक आमा समूहका अध्यक्ष र वडाबीच प्राप्त रकम फजुल खर्च नगर्ने सर्तमा दोहोरो सम्झौता समेत गरिएको छ ।
वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकम समेत सामाजिक काममै खर्च गर्ने बताउनुभएको छ । आफू राज्यको तलब खान नभइ जनताको सेवा गर्न जनप्रतिनिधि बनेको उहाँको भनाई छ ।
वडाअध्यक्ष चौहानले गत वर्ष राज्यवाट प्राप्त एक लाख ६८ हजार रुपैंयाँ र व्यक्तिगत ८३ हजार १ सय ११ थपेर रु दुई लाख ५१ हजार १ सय ११ रुपैंयाँ नगद सामाजिक सङ्घ/संस्थालाई प्रदान गर्नुभएको थियो ।
चौहानलाई सेनामा कार्यरत रही खेलाडीको भूमिकामा घाईंते वनेको भनी भारतीय सरकारले दोव्वर पेन्सनको सेवा दिईरहेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा जातीय संस्कार/संस्कृतिसँग सम्बन्धित परम्परागत सामग्री समेत हस्तान्तरण गरिएको छ । किरात राई समुदायका लागि साकेला सिली प्रदर्शनमा प्रयोग हुने ढोल, झ्याम्टा, चम्मर र छिरलिङ, दमाईका लागि पञ्चेबाजा र हिन्दु महिलाका लागि संगिनी नृत्यमा प्रयोग हुने रातो साडी प्रदान गरिएको हो ।
राई र दमाई समुदायका लागि रु ७५/७५ हजार तथा हिन्दु महिलाका लागि दुई लाख ८८ हजारमा ७२ वटा साडी खरिद गरेर प्रदान गरिएको वडाध्यक्ष चौहानले उल्लेख गर्नुभयो । वडा कार्यालयको जातीय संस्कार/संस्कृति संरक्षण शीर्षकमा छुट्याइएको बजेटबाट खरिद गरिएको परम्परागत सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता दिलचक्र राई, पूर्व वडासचिव तेजनाथ ढकाल लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
रकम वितरण कार्यक्रममा हर्षोल्लासपूर्ण ढंगले सम्पन्न कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाँकीसमेत स्वस्फुर्त रुपमा प्रदर्शन गरिएको थियो । प्रमुख अतिथि युवा नेता राईले वडाध्यक्ष लगायतको टोलीले परम्परागत सामग्री प्रदान गरेर उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उक्त कार्यलाई प्रवद्र्धन गरेर वडा नम्बर–८ बुवालुङलाई साँस्कृतिक पर्यटनको केन्द्र बनाउन सकिने राईको धारणा छ ।