खोटाङ भदौ–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हटियामा विक्रीका लागि पु¥याईएका कृषि उपज घर फर्काउन नपर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलवजारस्थित बुधवार र शनिवार लाग्ने हटियामा कृषकले पु¥याएका उपज विक्री नभए पनि नगरपालिकाले खरिद गरिदिने भएको हो ।

उत्पादन गरिए पनि वजार नपाउँदा निराशा वन्ने गरेको कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको मेयर दिपनारायण रिजालले वताउनुभयो । कृषकले उत्पादन गरी विक्रीका लागि बजार ल्याएका तरकारी, फलफुल लगायतका कृषि उपज यदि विक्री नभएमा नगरपालिकाले लागत अर्थात समर्थन मूल्यमा खरिद गरिदिने मेयर रिजालको भनाई छ ।

कृषकले ल्याएका उपज हटिया समयावधीभर विक्री गर्न नसकेमा समर्थन मूल्यमा लिई विक्री गर्नका लागि जिल्ला सहकारी संघसँग सहकार्य गरिएको छ । उक्त उपजलाई संघले दिक्तेलवजारमा सञ्चालन गरेको ‘ऐंचोपैंचो’ पसलवाट थोरै मुनाफा गरी विक्री गर्ने व्यवस्था गरिएको सहकारी संघका अध्यक्ष अनिल जोशीले वताउनुभयो । उक्त सहकारी पसलवाट समेत विक्र नभई नष्ट गर्नुपर्ने अवस्था आए सो वापतको रकम नगरपालिकाले सहकारी पसललाई दिने व्यवस्था गरिएको जनाईएको छ ।

नगरपालिकाले यस्तो व्यवस्था गरेपछि व्यवसायिक उत्पादनमा लागेका कृषकहरु उत्साहित वनेका छन् । यसअघि, नगरपालिकाले उत्पादन गर्न उत्पे्ररित गरे पनि वजार नपाई मेहनत खेर जाँदा कृषक निराश वन्ने गरेका थिए । स्थानीय सरकारले देशमै पहिलो पटक यस्तो व्यवस्था गरेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायको अनुमान छ । उत्पादन गर्ने कृषकका हितमा भएको यस्तो व्यवस्था सह्रानीय भएको उहाँले सुनाउनुभयो ।

६ वजे अघि किनबेच बन्द, सर्वसाधारण ग्राहकलाई प्राथमिकता

पछिल्लो समय विहानको ६ वजेपछि मात्र हटियामा किनवेच गर्न पाउने व्यवस्था कार्यान्वायन गरिएको छ । उक्त व्यवस्थाका कारण अँध्यारोमा नै कम मूल्यमा व्यापारीको सामान उठाएर बढी मूल्यमा बेच्ने विचौलिया हटेको छ । कृषक अर्थात उत्पादक स्वयमको मूल्यमा खरिद गर्न पाउँदा सर्वसाधारण ग्राहकले स्वतः रुपले कम मूल्यमा सामाग्री खरिद गर्न पाएका छन् ।

हाल, सर्वसाधारण उपभोक्ताले तोकिएको मूल्यमा खरिद गरिसकेपछि मात्र सस्तो मूल्यमा खरिदविक्री हुने व्यवस्था मिलाईएको छ । यदि विक्री नभएमा नगरपालिकाले समर्थन मूल्यमा खरिद गर्ने गरिएको हो ।

उत्पादन गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहन गर्दै वजारलाई व्यवस्थित, मर्यादित तथा उपभोक्ता हितमा निर्माण गर्न नगरपालिका लगायतका सरोकारवाला निकाय जुटेका छन् ।

स्थानीय तह कार्यान्वायनमा आएसँगै निरन्तरको सुझाव, अनुगमन तथा कार्वाहीवाट विचौलिया हट्नका साथै वजार व्यवस्थित वन्दै गएको मेयर रिजालले वताउनुभयो ।

केही दिन अघिदेखि उपभोक्ता हित संरक्षणका लागि नगरपालिकाले गठन गरेको अनुगमन टोलीले नगरभित्रका वजारहरुमा नियमित अनुगमन गरिरहेको छ ।