खोटाङ भदौ–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित वनाउन अनुगमनलाई तीव्र वनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलवजारलाई केन्द्रीत गर्दै अनुगमन तीव्र वनाएको हो ।

पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्येनजर गर्दै दिक्तेलवजारमा निरन्तर अनुगमन गरिरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रवार अनुगमन गर्दै दिक्तेलवाजारभित्र पर्ने सडक किनारमा राखिएका निर्माण सामाग्री तत्कालै हटाउन सुझाव दिएका छन् ।

सडक किनारमा यत्रतत्र राखिएका निर्माण सामाग्री, सवारीसाधन तथा बिक्री प्रयोजनका लागि राखिएका सामाग्रीका कारण वजार अस्तव्यस्त वनेको छ । दिक्तेलवजार हाल तीव्र् निर्माणको चरणमा भएको कारण त्यस्तो अवस्था भएको वजारवासीको भनाई छ । वजारमा अधिकांश पुराना घरहरु भत्काई हाल कंक्रिटका नयाँ घरहरु वनाउने क्रम बढेको छ ।

टक–पटक सुझाव दिँदा पनि सम्वन्धित ब्यक्तिले अटेर गरी निर्माण सामाग्री तथा सवारी साधनहरु जथाभावी राख्ने गरेका कारण कठोर वनेर नियमानुसार कार्वाहीमा उत्रने अवस्था आएको मेयर दिपनारायण रिजालले वताउँदै आउनुभएको छ ।

नियम तथा मापदण्डविपरित सडकमा राखिएका त्यस्ता सामाग्रीहरु एक साताभित्र व्यवस्थापन गर्न अर्थात सडकवाट हटाउन निर्देशन गरिएको अनुगमन टोलीका संयोजक सिताराम खतिवडाले जानकारी दिनुभयो । उपमेयरको संयोजकत्वमा रहने उपभोक्ता हित संरक्षण समिति अन्र्तगत गठित अनुगमन टोलीले नगरभित्रका वजारहरुमा निरन्तर अनुगमन गर्ने जनाएका छन् ।

नगरपालिकाले वजार अनुगमन निर्देशिका २०७५ तयार गरी वजार व्यवस्थापन तथा उपभोक्ताको हितमा नियमित वजार अनुगमन सुरु गरेको हो ।

नगरपालिकाका वजार अनुगमन शाखाका प्रमुखको संयोजकत्वमा गठित अनुगमन टोलीमा सम्वन्धित विषयगत क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षणमा क्रियाशिल संस्था, उद्योग वाणिज्य संघ र पत्रकार महासंघको प्रतिनिधि समावेश गरिएको छ ।

अनुगमन टोलीले अघिल्लो दिन दैनिक उपभोग्य सामानका पसलहरु अनुगमन गरेका थिए । टोलीले विक्रेता अर्थात सेवाप्रदायक नियमक निकायवाट कानुनवमोजिम प्रदान गरिने कागजात, सो कागजातको नविकरण, व्यवसायको साईनवोर्ड, मूल्यसूचि, परिमाण, मूल्य, गुणस्तर तथा नाप–तौल, प्याकेजिङ आदिका विषयमा अनुगमन गरिरहेको छ ।
वजार अनुगमन टोलीले विहिवार १५ वटा पसल अनुगमन गर्दा ७ वटा पसल दर्ता नगरी सञ्चालन गरेको पाएका थिए ।

अस्पताल चोकवाट अनुगमन सुरु गरेको टोलीले नगरपालिका तथा घरेलुमा व्यवसाय दर्ता नगरेको तथा कर कार्यालयवाट स्थायी लेखा नम्बर नलिई सञ्चालन गरेको पसललाई एक साताभित्र आधिकारिक बन्न आग्रह गरेको छ । अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई साता दिनभित्र आधिकारिक वन्न या पसल बन्द गर्न आग्रह गरिएको संयोजक खतिवडाको भनाई छ ।

दैनिक उपभोग्य सामाग्रीका पसलवाट अनुगमन सुरु गरेको टोलीले नगरपालिकाभित्र सञ्चालित उपभोक्तासँग सरोकार राख्ने अन्य पसल तथा व्यवसायको समेत अनुगमन गर्ने जनाएका छन् ।