खोटाङ भदौ–४, खोटाङमा अबैध वालुवा बोकेको ६ वटा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रावाबेंसी गाउँपालिकावाट अवैध रुपमा उत्खनन् गरेको वालुवा बोकेर दिक्तेलतर्फ आउँदै गरेका ट्याक्टर र चालकालाई नुन्थला प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको लामिडाँडा, रभुँवामा उत्खनन् गरी लोड गरिएको वालुवासहित प्रहरी चौकी नुन्थलाले बुधवार नियन्त्रणमा लिएको हो ।
अवैध वालुवा बोक्ने ना ४ त ९१७२ नम्बरको ट्याक्टर र चालक लिलानाथ दर्जी, को २ त १३८४ नम्बरको ट्याक्टर र चालक पासाङ दोर्जी शेर्पा, ना ४ त ९६५५ को ट्याक्टर र चालक सुर्य राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै, को २ त ३८१२ को चालक बिकास राई, को २ त ८२३८ को रोशन घिमिरे र ना ५ त ६६८३ का चालक गोपाल राईलाई बोकेको वालुवासहित नियन्त्रणमा लिएका हुन् । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई जिल्ला समन्वय समितिका प्रमुख संयोजकत्वको जिल्ला अनुगमन समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले उल्लेख गर्नुभएको छ ।

अवैध रुपमा बालुवा निकासी गरिरहेको सूचनाका आधारमा प्रहरीचौकी नुनथलाले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जुनसुकै खोला तथा नदीबाट असारदेखि भदौको बीचमा ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री उत्खनन् गर्न नपाइने नेपाल सरकारको नियम अनुसार बालुवा ओसार–पसारमा प्रयोग भइरहेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विधि र प्रकृया मिचेर वालुवा निकालेको पाइएपछि अनुगमन समितिको निर्णय अनुसार प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको संयोजक ववी चाम्लिङको भनाई छ । अवैध बालुवा झिक्ने व्यवसायीलाई आवश्यक कारबाही हुने जनाईएको छ ।