खोटाङ, पुस २– स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै खोटाङमा सुरु भएको आन्दोलनप्रति दलका नेताले ऐक्यबद्धता जनाएका छन् ।
खोटाङको गाउँपालिकाको सूचीबाट महुरेगढीको नाम हटाएर लामीडाँडा बनाइएपछि सच्याउन माग गर्दै बिरोधमा अनिश्चितकालिन सडक बन्दमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयको आन्दोलनप्रति दलका नेताहरुले सार्वजनिक मञ्चबाटै ऐक्यवबद्धता जनाएका हुन् । 
संघर्ष समितिले आईतबार महुरेनुनथलामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वसांसद टंक राई, कांग्रेस नेता बालानन्द खनाल, एमाले नेता खडेन्द्र सामपाङ, माओबादी नेता दिपक पाण्डे, राप्रपा नेपालका नेता जीवन श्रेष्ठ, संघीय समाजबादी फोरमका नेता नबिन राई र नयाँशक्ती पार्टीका नेता बिसन राईले आन्दोलन सार्थक रहेको बताएका छन् । उनीहरुले संघर्ष समितिको आन्दोलनप्रति ऐक्वबद्धता जनाएका छन् । 
यसअघि कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा, नेकपा माले, खम्बुवान राष्ट्रिय मोर्चा र नयाँ शक्तीले संयुक्त पुस २६ गते बिज्ञाप्तीमार्फत महुरेगढी गाउँपालिकाको सट्टामा लामीडाँडा गाउँपालिका बनाउन सिफारिस गरिएको भन्दै सच्याउनु पर्ने माग गरेका थिए । 
स्थानीय तह पुनःसंरचनाप्राबिधिक सहयोग समिति तथा सर्बदलीय बैठकले हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरेकामा आयोगले महुरेगढीलाई मेटाएर लामीडाँडा गाउँपालिका बनाउन सरकारलाई सिफारिस गरेको भन्दै जिल्लामा बिरोध सुरु भएको हो । लामो बिवाद र छलफलपछि टुंग्याएर पठाइएको स्थानीय तहको खाकालाई काठ्माण्डौंमा बस्ने केही नेताले पहुँचका भरमा परिवर्तन गराएको भन्दै जिल्लाका नेता आक्रोशित बनेका छन् । जिल्लाको सिफारिसलाई लत्याएर सरकारलाई बुझाइएको आयोगको प्रतिबेदनले आफुहरुलाई ‘मिनिमाईज’ गरेर बेकम्मा साबित गर्न खोजेको नेताहरुको बुझाई छ । 
महुरेगढीको नाम हटाएर लामीडाँडा बनाइएपछि सच्याउन माग गर्दै स्थानीय पुस २३ गतेदेखि अनिश्चितकालिन सडक बन्दमा उत्रिएका छन् । जिल्लाबाट प्रस्ताबित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य एबं युवासंघका जिल्ला अध्यक्ष दिनेश राईले बताए ।