संसारमा मानिस खुशीको खोजीमा भौतारिइरहेको हुन्छ । खुशीकै खोजीमा राष्ट्र वा नागरिकलाई धनी बनाउने प्रयासहरू भैरहेका हुन्छन् । खुशीका विभिन्न मापदण्ड तोकेर राष्ट्रसंघले ‘वर्ल्ड ह्यापी रिपोर्ट’ पनि सार्वजनिक गर्दछ । नेपालको तथ्यांक विभागले पनि आर्थिक वर्ष २०७६/०७७ मा नेपालीको खुशी सम्बन्धी मापदण्ड बनाएर सर्वेक्षण गर्दैछ । आर्थिक वृद्धिदरका कारण राष्ट्रको खुशी अल्पकालीन रूपमा देखाएपनि धनी र गरीवबीचको खाडल र आर्थिक असमानताका विकृतिले जनतामा झन् दुःख थप्छ। व्यक्तिगत आम्दानी बढेपनि महत्वाकांक्षा चुलिँदै जाने भएकाले पैसा पनि खुशीको कारक होइन । त्यसो भए राष्ट्रले जनताका लागि ल्याउने खुशीको पूर्व सर्त के हो त ?

कल्याण रोका

राजनीतिक अर्थशास्त्रमा युनिभर्सिटी अफ इन्टरनेश्नल बिजनेस एण्ड इकोनोमिक्स, बेइजिङबाट विद्यावारिधी गरेका खोटाङका कल्याण रोकाले राष्ट्रले नागरिकका लागि कसरी खुशी दिने भन्ने विषयमा शोधपत्र तयार पारेका छन् । उनले अंग्रेजी भाषामा विद्यावारिधी गर्ने विश्वविद्यालयकै पहिलो विद्यार्थी बनेर आफ्नो लागि खुशी त भेटे तर धन कमाउँदैमा खुशी आउँछ भन्ने निचोड दिन चाहेनन् ।

हालै बेइजिङमा दीक्षित भएपछि आधिकारिक रूपमा डाक्टर बनेका रोकाले ‘मानव विकास, आर्थिक स्वतन्त्रता, आर्थिक वृद्धि र आम्दानीले नागरिक र राष्ट्रको खुशीमा पर्ने प्रभाव’ माथि अनुसन्धान गर्नुको रहस्य खोले । उनले भने, ‘मानव विकास सूचकांक उच्च भएका देशहरू स्वाभाविक रूपमा खुशी हुन्छन् नै तर सूचकांक मात्रै खुशीका लागि पर्याप्त हुन सक्दैन ।’

भारतीय अर्थशास्त्री अमर्त्य सेनका अनुसार शिक्षा, स्वास्थ्य र आम्दानी मानव सूचकांकका पूर्वाधार हुन्। तर रोकाले सूचकांक वा आर्थिक स्वतन्त्रता, आर्थिक वृद्धिदर र आम्दानी मात्रैले पनि खुशी पाउन नसकिने औंल्याए। यसका लागि उनले विश्वका १२० देश छनोट गरेर सन् २००८ देखि २०१६ सम्मको डाटा विश्लेषण गरे। ‘आर्थिक स्वतन्त्रताले मान्छेमा खुशी ल्याउँछ तर अल्पकालीन मात्रै । यसबाट असमानता बढेर धनी र गरीब जस्तै खुश र बेखुशको संख्या बढ्नेछ’ उनले भने ।

सरकारको नियन्त्रण विना आर्थिक गतिविधि गर्न पाउने कुराले समाजमा असमानता बढाउने र असमानता हुनुको अर्थ कोही खुशी र कोही बेखुशी हुनु भएकाले धनले मात्रै खुशी प्रतिविम्वित हुन नसक्ने उनको ठहर थियो । ‘आर्थिक वृद्धिदर भएपछि राष्ट्रको जीवनमा छोटो रूपमै खुशी आएपनि सर्वसाधारणको जीवनमा खुशी ल्याउन सक्दैन। आर्थिक असमानता घटाउनु नै शान्ति वा खुशीको कारक हो’ रोकाले भने। जनतालाई खुशी पार्न सकिन्छ कि भन्ने सोचेर हरेक राष्ट्रले वृद्धिदरमा जोड दिएका हुन्छन् तथापि मान्छेको जीवनमा दीर्घकालीन खुशी ल्याउने गरी समतामूलक वृद्धिमा जोड दिनुपर्ने उनले बताए।

नेपालमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई आर्थिक वृद्धिदरतर्फ मात्रै केन्द्रित गरेमा नागरिक जीवनमा खुशी ल्याउन नसकिने बताउने डा.रोकाले वृद्धिदर त बढाउनुपर्ने तर समता सहितको, धनी र गरीबबीचको दूरी घटाउने हिसाबको हुनुपर्ने बताए। ‘खुशीका सूचकांकहरू हाम्रा योजनाहरूमा समावेश गर्नुपर्छ, त्यसो भएमा समता सहितको आर्थिक वृद्धिदरले मात्रै नेपालीलाई खुशी ल्याउन सक्छ’ उनले भने ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here