खोटाङ साउन–५, खोटाङमा लोकसेवाको परीक्षा विथोल्न प्रयास गर्ने आन्दोलकारीमाथि निर्घात कुटपिट भएको छ । शनिवार विहान दिक्तेल वहुमुखी क्याम्पसमा सञ्चालन भएको परीक्षा विथोल्ने प्रयास गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका आन्दोलनकारीमाथि निर्घात कुटपिट भएको हो ।

परीक्षाहलभित्र पसी प्रश्नपत्र च्यातेर विरोध जनाउँदा प्रहरीले नियन्त्रणमा लिएको एलवी मगर लगायतका आन्दोलनकारीमाथि अमानवीय ढंगले कुटपिट गरेको जनाईएको छ । लोकसेवा आयोगले निकालेको विज्ञापन असमावेशी भएको भन्दै विरोधमा उत्रिएका आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु र महासंघका सह–सचिव एलबी मगरमाथि प्रहरीले निर्घात रुपमा कुटपिट गरेको बताईएको छ । सोही टोलीमा खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पनि प्रहरीले पक्राउ गरेका छन् ।

परीक्षा सुरु हुन अघि प्रवेशपत्रविनै परीक्षा हल प्रवेश गरेका आन्दोलनकारीले परीक्षा सञ्चालकले बोकिरहेको प्रश्नपत्र खोसेर च्यातेका थिए ।
पक्राउ परेकामध्ये राई र मगरमाथि वढी कुटपिट भएको पाईएको राष्ट्रिय मानवअधिकार आयोग १ नम्बर प्रदेश शाखा खोटाङकी मानवअधिकार अधिकृत सुमित्रादेवी राईले वताउनुभयो । अधिकृत राईको अनुसार विहान पक्राउ परेका आन्दोलनकारीको बेलुकी ९ बजेतिर मात्र घा जाँच गराईएको छ ।

रविन र एलवीको शरीरमा वन्दुकको कुञ्जोको डाम वसेका छन् । प्रहरीले भने नियन्त्रणमा लिने क्रममा सामान्य कुटपिट भएको जनाएका छन् । आन्दोलनकारी पक्षले भने सिडियोको प्रत्यक्ष आदेशमा मगर र राईमाथि पक्राउ परेकै स्थलमा कुटपिट भएको वताएका छन् । ‘सुरुमा प्रहरीले सामान्य ढंगले नियन्त्रणमा लिएका थिए ।’ एक आन्दोलकारी भन्छन्–‘सिडियो विष्णुहरी उपाध्यायले ठोक ! भनेपछि निर्घात कुटपिट भएको हो ।’

यसैवीच, आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढंगले कुटपिट गरेको समाजवादी पार्टी नेपाल खोटाङ तथा अन्य संघसंस्थाले भत्र्सना गरेको छ । आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले समेत छुट्टाछुट्टै विज्ञप्ती जारी गरी कुटपिटको विरोध जनाएका छन् ।

जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न सवैको विज्ञप्तीमार्फत माग गरिएको छ । पक्राउ परेका आन्दोलनकारीले भने आत्मसमर्पण नगर्ने बताएका छन् । आन्दोलन रोक्ने सर्तमा आफुहरुलाई छुटाउने पहल नगर्न रविन खम्बुले आग्रह गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ लगायत संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले जिल्लामा चरणबद्द आन्दोलन गरिरहेका छन् ।