
खोटाङ साउन–५, पत्रकार महासंघ खोटाङका अध्यक्ष सहित तीन पत्रकार पुरस्कृत भएका छन् । हलेसी तुवाचुङ नगरपालिकावाट प्रकाशन हुने तुवाचुङ साप्ताहिकले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा महासंघका अध्यक्ष दमन राई सहित तीनजना पत्रकारलाई पुरस्कृत गरेको हो । साप्ताहिक पत्रिकाले नागरिक दैनिककर्मी राईसँगै राष्ट्रिय समाचार समिति तथा नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगर, र कान्तिपुर टेलिभिजनकर्मी पत्रकार उत्तम चौलागाँईलाई पुरस्कृत गरेको हो ।
होटल हलेसी भिलेजमा आयोजित कार्यक्रमका प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले नगद १५÷१५ हजार रुपैंयाँ सहित प्रमाणपत्रको साथमा खादा ओढाएर पुरस्कृत गर्नुभएको हो । पत्रकार मगर नेपाल पत्रकार महासङ्घका प्रदेश सभाषद एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । चौलागाँई भने शाखाका सचिव तथा नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष हुनुहुन्छ ।
मोफसलमा रहेर जिल्लाको हरेक विकास निर्माणका गतिविधिलाई पत्रकारिताको माध्यमबाट देश तथा विदेशमा रहेका नागरिकलाई सुशुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पुरस्कृत गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले बताउनुभयो । पहिलो वर्ष तीन जना पत्रकारलाई वितरण गरिने पत्रकारिता पुरस्कार अर्को वर्षदेखि एक जनालाई मात्र वितरण गरिने जनाइएको छ ।
हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीमा आयोजना गरिएको वार्षिक उत्सवको अवसरमा पत्रकार, समाजसेवी, साहित्यकार र खेलकुदकर्मीगरी चार विद्यामा छ जनालाई पुरस्कृत गरिएको छ । समाजसेवी जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवा पुरस्कार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मा निवासी साहित्यकार विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार र सितोरियो करातेका खेलाडी एवम् अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार प्रदान गरिएको प्रकाशक÷सम्पादक राईले बताउनुभयो ।
समाजसेवी राई, रेफ्री सेशुका र साहित्यकार विक्रमलाई पनि जनही १५/१५ हजार नगद सहित पुरस्कृत गरिएको छ । कार्यक्रममा समाजसेवी भूपेन्द्रकुमार राई, श्यामचन्द्र राई र नयनकुमार राईलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको छ ।
गत वर्षको साउन–४ गतेदेखि त्रिधार्मिकस्थल हलेसीबाट प्रकाशन शुरु भएको तुवाचुङ साप्ताहिक खबर पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ ।