खोटाङ, पुस ३– स्थानीय तह पुःर्नसंरचनाको बिषयमा असन्तुष्टी जनाउँदै बिरोधमा उत्रिएका खोटाङका आन्दोलनकर्मीले सडक बन्दको अवधि घटाएको छ ।
महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाइएको भन्दै बिरोधमा पुस २३ गतेदेखि अनिश्चितकालिन सडक बन्दमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयले आईतबार साँझदेखि सडक बन्दको अवधि १७ घण्टा छोट्याएको हो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडकको नुनथला खण्ड तथा सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक खण्डमा चौबिसै घण्टा बन्द गर्दैआएका संघर्ष समितिले सोमबारदेखि दैनिक बेलुका ५ बजेदेखि भोलीपल्ट बिहान १० बजेसम्म सडक खुला गरेको छ । खोटाङको गाउँपालिकाको सूचीमा आयोगले सिफारिस नै नभएका गाउँपालिका समाबेस गरेको बिरोधमा मध्यपहाडी लोकमार्ग १० दिनदेखि बन्द गरिएको छ । यात्रुको माग र समस्यालाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मकालागि सडक बन्दको अवघि घटाइएको संघर्ष समितिका सदस्य एबं युवासंघका जिल्ला अध्यक्ष दिनेश राईले बताउनुभयो ।
यसअघि रातदिन सवारी साधनको आगमनलाई रोकेको संघर्ष समितिले जिल्लास्थित दल लगायतको आग्रहपछि रातको १० बजेदेखि भोलीपल्ट बिहान ७ बजेसम्म सडक खुला गरेको थियो । रातका समयमा बन्द घोषित क्षेत्र पार गर्नुपर्ने भएकाले यात्रु अझै पनि मारमै छन् । महुरेगढी मेटाइएको बिरोधमा काठ्माण्डौंमा राकेश राईको संयोकत्वमा गठन भएको महुरेगढी खोटाङ–काठ्माण्डौं संघर्ष समितिले भेटेका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल, माओबादी केन्द्रका उपाध्याक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, संघीय मामिला तथा स्थानीय बिकास मन्त्री हितराज पाण्डे लगायतका नेताहरु आन्दोलनप्रति सकरात्मक देखिएकाले आन्दोलनलाई खुकुलो पार्दै लगिएको आन्दोलनरत विद्यार्थी नेता ओमप्रकाश घिमिरेले बताउनुभयो । संघर्ष समितिले कांग्रेस सभापति शेरबहादुर खेउवालाई पनि भेट्ने कार्यक्रम छ ।
श्रोतका अनुशार आयोगका सदस्य डा. श्याम भुर्तेलले काठ्माण्डौं बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि बिरोध आएको हो । जिल्लाबाट प्रस्ताबित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो ।