
टिवन राई/ हलेसी
मंसिर–४, आमा बाबु दुबै गुमाएका धितुङका ७ बालबालिकालाई अर्को सहयोग प्राप्त भएको छ । अमेरीका तथा यु.के. बस्ने नेपाली आप्रवासीहरुले स्वर्गीय चन्द्रकिरात र टलकुमारी राई परिवार सहयोग समिति मार्पmत सोमवार ५९ हजार सहयोग प्रदान गरेका हुन् ।
बराहा नगरपालिका ३ सुनसरीका मिलन राई, केपीलासगढी गाउपालिका–५ खोटाङका सरणभक्त खालिङ र माप्य दुधकोशी गाँउपालिका १ शोलुखुम्बुका मकर बहादुर खालिङले सहयोग दिएको स्वर्गीय परीवार सहयोग समितिका कोषाध्यक्ष गणेश कार्कीले बताउनु भयो । उहाँका अनुसार हलेसी तुवाचुङ नगरपालिका ७ गैरीगुठका शदेस राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ बाम्राङका कृष्ण प्रसाद चाम्लिङ र लिखुपिके गाँउपालिका–१ शोलुखुम्बुका आङबाबु शेर्पा गरी जम्मा ६ जनाले एकमुष्ट ५९ हजार सहयोग गरेको हो ।
हलेसी स्थीत होटल हलेसी भिलेजमा एक कार्यक्रमको आयोजना गरी आप्रवासीहरुको प्रतिनिधी उषा राईले ७ बालबालिका मध्येका जेष्ठ बुङातुङ राईलाई नगद हस्तान्तरण गर्नु भएको थियो । उषा, शदेसका श्रीमती हुन् । विभिन्न सञ्चार माध्यमबाट ७ बालबालिकाको भिडीयो तथा समाचार सुनेपछि आप्रवासीहरुले सहयोग गरेको उषा राईले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले दिएको २० हजार पनि हस्तान्तरण गरीएको सहयोग समितिका संयोजक खडेन्द्र राईले बताउनु भयो । उहाका अनुसार सहयोग समितिमा केही समय अगाडी जम्मा भएको रकमलाई आज हस्तान्तरण गरीएको हो । उपचारको क्रममा २०७३ भाद्र १९ गते आमा टलकुमारी राईको जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको थियो भने गत श्रावण १८ गते करेन्ट लागी चन्द्र किरातको मृत्यु भएसँगै ७ बालबालिका आमा बाबु बिहिन बनेका थिए ।