खोटाङ साउन–४, खोटाङमा पक्राउ परेको आन्दोलनकारीलाई रिहाई गर्न माग गर्दै दिक्तेलवजारमा प्रदर्शन भएको छ । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको ४ जना आन्दोलनकारीलाई बिना सर्त रिहा गर्न माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका आन्दोलनकारीले प्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोगले निकालेको विज्ञापन असमावेशी भएको भन्दै विरोधमा उत्रिएका आन्दोलनकारीले शनिवार विहान दिक्तेल वहुमुखी क्याम्पसमा सञ्चालन भएको परीक्षा विथोल्ने प्रयास गरेका थिए । परीक्षा विथोल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको एलवी मगर लगायतका आन्दोलनकारीलाई तत्काल रिहा गर्न माग गर्दै नाराजुलुसहित दिक्तेलवजार परिक्रमा गरिएको छ ।

लोकसेवा आयोगको असमावेशी विज्ञापन खारेजीको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा प्रदेश नम्बर १ वन्द गरी परीक्षा विथोल्ने प्रयास गरेको भन्दै आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेका चारै जनालाई रिहाई तथा असमावेशी विज्ञापन खारेजीको माग गर्दै जनजाति महासंघ तथा संयुक्त संघर्ष आन्दोलन परिचालन समितिको नेतृत्वमा प्रर्दशन गरिएको संयोजक हात्तिराम राईले सुनाउनुभयो । आफ्नो मागलाई वेवास्ता गरे जस्तोसुकै आन्दोलन गर्न तयार हुने संयोजक राईको भनाई छ ।

यसैवीच, प्रहरीको कुटपिट तथा अमानवीय ब्यवहारमा परेका आन्दोलनकारीलाई रिहाईको माग गर्दै समाजवादी पार्टी, नेपाल, खोटाङ लगायत अन्य ४ संघसंस्थाले विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा प्रहरीले गरेको अमानवीय व्यवहारको भत्र्सना गरिएको छ । विज्ञप्तीमार्फत माग गर्दै आन्दोलनकारीलाई विना सर्त रिहाई गर्न आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेका छन् ।

आन्दोलनकारीले भवनगैरावाट सुरु गरेको जुलुस रत्नपार्क–हाटडाँडा हुँदै त्रिवेणीचोकमा कोणसभामा परिणत गरेका थिए । आदिवासी जनजाति, दलित, महिला, अपाङग, मधेसी, मुस्लिमलगायतको अधिकारलाई कटौती गर्दै संविधानको भावना र मर्म विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै जिल्लामा चरणवद्द आन्दोलन भईरहेको छ ।
विज्ञापनको विरोधमा गरिएको १ नम्बर वन्दका कारण दिक्तेलवजार ठप्प बनेका छन् ।