खोटाङ साउन–४, खोटाङमा आन्दोलकारीमाथि प्रहरीले धरपकड, कुटपिट तथा अमानवीय व्यवहार गरेको भन्दै विरोध जनाईएको छ । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले आन्दोलनकारीलाई अमानवीय ढंगले कुटपिट गरेको घटनाप्रति राजनीतिक दल तथा विभिन्न संघ–संस्थाले भत्र्सना गरेको हो ।
लोकसेवा आयोगले निकालेको विज्ञापन असमावेशी भएको भन्दै विरोधमा उत्रिएका आन्दोलनकारीले शनिवार विहान दिक्तेल वहुमुखी क्याम्पसमा सञ्चालन भएको परीक्षा विथोल्ने प्रयास गरेका थिए । परीक्षाहलभित्र पसी प्रश्नपत्र च्यातेर विरोध जनाउँदा प्रहरीले नियन्त्रणमा लिएको एलवी मगर लगायतका आन्दोलनकारीमाथि अमानवीय ढंगले कुटपिट गरेको जनाईएको छ ।
आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढंगले कुटपिट गरेको भन्दै समाजवादी पार्टी, नेपाल, आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित संघ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी विरोध जनाएका हुन् । शनिवार विहान प्रदेश नम्बर १ बन्द गराउने तथा परीक्षा विथोल्ने क्रममा आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई प्रहरीले पक्राउ गरेका छन् ।
जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न सवैको विज्ञप्तीमार्फत माग गरिएको छ ।
हाल चलिरहेको लोकसेवा आयोगको असमावेशी विज्ञापन खारेजीको माग गर्दै चलिरहेको शान्ति पूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाई रहेको समाजवादी पार्टीले लगायतका संघ संस्थाले राज्यले दमनको नीति लिएकोमा विरोध जनाएको हो ।
पक्राउ परेका युवाहरुलाई लाठीचार्ज समेत गरेको भन्दै अमानवीय हिसाबमा राज्यले दमन गर्न प्रयास गरेकोे विज्ञप्तीमा उल्लेख छ ।
यसैवीच, आन्दोलनकारीलाई रिहाईको माग गर्दै दिक्तेलवजारमा प्रदर्शन भएको छ । पक्राउ परेका चारै जनालाई विना सर्त तत्कालै रिहाई गर्न माग गर्दै नाराजुलुससहित दिक्तेलबजार परिक्रमा गरिएको हो ।
आन्दोलनकारीले भवनगैरावाट सुरु गरेको जुलुस रत्नपार्क–हाटडाँडा हुँदै त्रिवेणीचोकमा कोणसभामा परिणत गरेका थिए । आन्दोलकारीलाई तत्कालै रिहा तथा आफ्नो मागलाई सरकारले सम्वोधन नगरे आन्दोलनलाई थप शसक्त बनाउने नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तथा संयुक्त संघर्ष आन्दोलन परिचालन समिति खोटाङका संयोजक हात्तिराम राईले जनाउनुभयो ।
आदिवासी जनजाति, दलित, महिला, अपाङग, मधेसी, मुस्लिमलगायतको अधिकारलाई कटौती गर्दै संविधानको भावना र मर्म विपरित लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोधमा शनिवार एक नम्बर प्रदेश बन्दको गरिएको छ । वन्दका कारण दिक्तेलवजार ठप्प बनेका छन् ।
उता, प्रहरी हिरासतमा रहेका आन्दोलनकारीले भने हिरासतमै अनसन शुरु गरेका छन् ।