खोटाङ साउन–३, लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध गर्दै सुरु गरिएको ‘आरक्षण वचाउ आन्दोलन’मा समाजवादी पार्टी, नेपाल खोटाङले पनि ऐक्यवद्दता जनाएका छन् । समाजवादी पार्टी, नेपाल जिल्ला समितिले शुक्रवार विज्ञप्ती जारी गर्दै आदिवासी जनजाति महासंघको नेतृत्वमा जारी आन्दोलनमा ऐक्यवद्दता रहेको जनाईएको हो ।

स्थानीय तहको कर्मचारी पदपूर्ति प्रदेश लोकसेवा आयोगवाट गरिने स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट उल्लेख भएको विज्ञप्तीमा प्रष्ट्याईएको छ ।

विज्ञप्तीमा उल्लेख छ–‘संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायरा बाहिर गएर एकै पटक यतिका धेरै संख्यामा पदपूर्ति गर्न लागेको हुँदा समाजवादी पार्टी नेपाल यसको घोर आपत्ति र विरोध गर्दछ ।’

जिल्ला अध्यक्ष टंकवहादुर थापाले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमार्फत शनिवार आव्हान गरिएको प्रदेश नम्बर १ बन्द कार्यक्रमको समर्थन गरिएको छ ।

जिल्लामा नेपाल आदिबासी जनजाती महासंघ खोटाङ एबं आदिबासी जनजाती संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले चरणवद्द आन्दोलन गरिरहेका छन् । यो आन्दोलन निरन्तर जारी रहने संघर्ष आन्दोलन परिचालन समितिले जनाएको छ ।

सरकारको आग्रहमा लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १ सय ४१ दरखास्त परेको छ । आदिवासी जनजातीको कोटामा ४३ हजार ३ सय २०, मधेसी कोटामा २४ हजार ९०, दलितमा ३ हजार ९१, पिछडिएको क्षेत्रमा १ सय १६, अपांगमा १ सय ४६ र महिला कोटामा १ लाख ३ हजार ५ सय ६७ दरखास्त परेका लोक सेवाले जनाएको छ ।

तर, यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाती महासंघले आन्दोलन गर्दै आएको छ ।