खोटाङ साउन, लोकसेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरीत खुलाइएको भन्दै विरोधस्वरुप खोटाङमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला जलाईएको छ । उक्त विज्ञापनको विरोधमा उत्रिएका आन्दोलनकारीले दिक्तेलवजारमा सामान्य प्रशासन मन्त्री पण्डित र आयोगका अध्यक्ष मैनालीको पुत्ला जलाएका हुन् ।

आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोध गर्दै दिक्तेलवजारको त्रिवेणीचोकमा शुक्रवार पुत्ला दहन गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका सचिव रविन खम्बुले जनाउनुभयो ।

जिल्लामा नेपाल आदिबासी जनजाती महासंघ खोटाङ एबं आदिबासी जनजाती संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले चरणवद्द आन्दोलन गरिरहेका छन् । यो आन्दोलन निरन्तर जारी रहने संघर्ष आन्दोलन परिचालन समितिले जनाएको छ ।

सरकारको आग्रहमा लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १ सय ४१ दरखास्त परेको छ । आदिवासी जनजातीको कोटामा ४३ हजार ३ सय २०, मधेसी कोटामा २४ हजार ९०, दलितमा ३ हजार ९१, पिछडिएको क्षेत्रमा १ सय १६, अपांगमा १ सय ४६ र महिला कोटामा १ लाख ३ हजार ५ सय ६७ दरखास्त परेका लोक सेवाले जनाएको छ ।

तर, यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाती महासंघले आन्दोलन गर्दै आएको छ । लोक सेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेकोमा सर्वोच्चले विज्ञापन रोक्न नपर्ने अन्तरिम आदेश दिएपछि परीक्षा लिन लागिएको हो ।