खोटाङ, ७ माघ । स्थानीय तहको निर्वाचन हुने चर्चा चलिरहेकाबेला खोटाङमा जिल्ला मतदाता अधिकार मञ्च गठन गरिएको छ । मतदातालाई मतदान शिक्षाका विषयमा जानकारी दिनकालागि चर्चबहादुर बिश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय मतदाता अधिकार मञ्च गठन गरिएको हो । 
मञ्चको उपाध्यक्षमा सनमान खड्का, सचिवमा सुवाशचन्द्र आचार्य र कोषाध्यक्षमा मिनीका शेर्पा चयन भएकी छन् । राष्ट्रिय मतदाता अधिकार मञ्च नेपालले बिहिबार होटल शुभदिनमा आयोजना गरेको कार्यक्रमकाबीचमा जिल्ला तहको मतदाता अधिकार मञ्च गठन गरिएको हो । 
जिल्लाका मतदाता शिक्षा सम्बन्धी गतिबिधि सञ्चालन गर्दै मतदातालाई सचेत पार्नकालागि मञ्च गठन गरिएको सचिव आचार्यले बताए । ‘मतदाता शिक्षाका बिषयमा मञ्चले काम गर्छ,’ सचिव आचार्यले भने, ‘मत लगाउने विधि, यसका महत्व लगायतका बिषयमा सचेतना छर्नेमा हाम्रो कार्यक्रम केन्द्रित रहने छ ।’ 
कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष भक्तबहादुर बिश्वकर्माले मतदाता शिक्षा सबैकालागि अनिवार्य शिक्षा भएको बताए । 
कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत दिनेश खत्री, गैसस महासंघका केन्द्रीय सदस्य दिपनारायण रिजाल लगायतको उपस्थिति थियो ।