खोटाङ साउन,  अवरुद्ध सडक खुल्न नसक्दा काठमाण्डौं–खोटाङ दिनमा दुई पटकसम्म  हेलिकोप्टर चार्टर भईरहेको छ । बाढी–पहिरोका कारण अवरुद्द सडक खुल्न नसक्दा आकस्मिक कार्यका लागि यात्रुहरुले  २ लाखदेखि २ लाख २० हजार रुपैंयाँ तिरेर हेलि चार्टर गरिरहेका छन् ।

आकस्मिक कार्यका यात्रुले मंगलवारदेखि विहिवारसम्म ५ पटक काठमाण्डौं–दिक्तेलवजार हेलिकोप्टर चार्टर गरिसकेका छन् । ८ दिनदेखि सडक अवरुद्द हुँदा जिल्ला आवत–जावत गर्ने अन्य यात्रुहरुले समेत काठमाण्डौंमा हेलिकोप्टरको बन्दोवस्तीमा लागेको यात्रुका आफन्तहरुले जनाएका छन् ।

पाँच जना क्षमता रहेको हेलिकोप्टरलाई सामुहिक रुपमा चार्टर गरी काठमाण्डौं–खोटाङ यात्रा गर्दा एक यात्रुले १५ देखि ४४ हजार रुपैंयाँसम्म बुझाईरहेको खोटाङ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजु लयालुले सुनाउनुभयो । चार्टर गरिएको हेलिकोप्टर यात्राका लागि समेत दलाली हुने गरेको यात्रु सुनाउँछन् ।  काठमाण्डौंबाट खोटाङ यात्राका लागि मंगलवारदेखि प्रयास गर्नुभएकी ओखलढुंगाकी चम्पा राई(कार्की) विहिबार हेलिमार्फत दिक्तेल आईपुग्नुभएको छ ।

४ गतेदेखि हुने लोकसेवा परीक्षा  दिन १५ हजार रुपैंयाँ भाडा तिरेर दिक्तेलबजार आउनुभएकी चम्पाका अनुसार जसले बढी रकम दियो उसैले हेलिमा यात्रा गर्न पाउने अवस्था रहेको छ । सडक अवरुद्द हुँदा दिक्तेलवजारमा हुने लोकसेवाका परीक्षार्थीलाई सहभागी बन्न समस्या भएको छ ।

दिक्तेल–हलेसी–जयराम सडकखण्ड भने सुचारु भईसकेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले जनाउनुभयो । विभिन्न स्थानमा अवरुद्द सडक खुलाउन नगरपालिका लगायत स्थानीय जुटिरहेका छन् ।