खोटाङ असार–३१, १० बर्षे शसस्त्र माओवादी जनयुद्दका क्रममा ज्यान गुमाएका खोटाङका दुई नेताको स्मृतिमा विरामीलाई फलफुल वितरण गरिएको छ । जनयुद्दका क्रममा २०५९ असार ३१ गते राज्यपक्षबाट हत्या गरिएका तत्कालिन माओबादी नेता दिलकाजी कार्की र ईन्दिरा कार्कीको स्मृतिमा मंगलबार जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो ।
श्रीमान–श्रीमति रहेका कार्कीद्धयको पार्टी कार्यालयमा राखिएका तस्बिरमा माल्यार्पणपछि जिल्ला अस्पतालमा गई उपचार गराइरहेका बिरामीलाई फलफुल वितरण गरिएको हो । दिलकाजी–ईन्दिराको १८ औं स्मृति दिवसको अवसरमा दिलकाजी–ठूलकुमार प्रतिष्ठानले फलफुल वितरण कार्यक्रमको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताउनुभयो ।
नेकपाकी केन्द्रीय सदस्य समिता कार्की, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, नेकपाका नेता कुमार आचार्य लगायतले १४ बिरामीलाई फलफुल वितरण गरेको अध्यक्ष राईको भनाई छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका दिलकाजी र ईन्दिरा कार्कीलाई जन्तेढुंगा गाउँपालिका चिसापानीबाट अपहरण गरेर दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बतासेस्थित भालु खोलामा हत्या गरिएको थियो । दिलकाजी तत्कालिन नेकपा माओवादीका क्षेत्रिय ब्युरो सदस्य एबं जिल्ला सेक्रेटरी तथा ईन्दिरा अनेमसंघ (क्रान्तिकारी)की जिल्ला सदस्य रहनुभएको थियो ।