–फोटो उपप्रमुख विमला राईको फेसबुक
खोटाङ असार–२८, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चित भएको नगर घोषित भएको छ । ११ वडा रहेका नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।
उक्त उमेरभित्रमा राष्ट्रिय खोप तालिका अनुसार बिसिजि, डिपिटी–हेप बी–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई खोपको मात्रा पूरा गरेको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृया भएको आधारमा मेयर इवन राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्नुभएको हो ।
हरेक वर्ष नवजात शिशुको जन्म भइरहने भएका हरेक वर्ष नै ११ महिनाभित्रका बालबच्चाले सबै खोपको मात्रा पुरा गरेको सुनिश्चित गर्नुपर्ने प्रावधान अनुसार नगरलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । रोगको कारण, रोग लाग्ने दर, अपांग दर र मृत्युदरमा कमी ल्याएर बालबच्चाको स्वास्थ्य स्वस्थ बनाउने उद्धेश्यले पूर्ण खोप सुनिश्चितता नगर घोषणा अभियान चलाइएको थियो ।
कार्यक्रमको अवशरमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रम सफल बनाउनका लागि योगदान पु¥याएकामा ११ स्वास्थ्यचौकी र दुई शहरी स्वास्थ्य केन्द्रलाई प्रशंसा–पत्र प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट खोप कार्यकर्तामध्ये च्यास्मीटार स्वास्थ्यचौकीकी भगवती बिकलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।